लहान । तराई–मधेशका जिल्लामा दाइजो प्रथाको विकृति हटाउन अन्तरजातीय विवाहले परिवारिक र सामाजिक रूपमा स्वीकृति पाउने कार्य उदाहरणीय भएको छ । यसलाई सामाजिक परिवर्तनका रूपमा हेरिन थालिएको हो ।
स्वजातीय विवाहमा दाइजोको कुरा मिलेपछि मात्रै विवाह हुने परम्परालाई चुनौती दिँदै सिरहामा भएको केही जोडीको अन्तरजातीय विवाहलाई घरपरिवार समाजले समेत स्वीकृति दिएपछि यस्ता बिवाहले दाइजो हट्न सक्ने सङ्केतका रूपमा अधिकारकर्मीहरूले लिएका छन् ।
लहान १० का रितु पासवान सुनीलकुमार साह सुँडी, सिराहा नगरपालिका–१५ का अवधेशकुमार झा र त्यही गाउँ बस्ने बन्दना मण्डलको विवाह घरपरिवारको स्वीकृतिमा भएका हुन् । बिनादाइजो भएका अन्तरजातीय विवाहबारे समाजमा सकारात्मक चर्चा भइरहेको महिला मानव अधिकारवादी मुक्ति नेपालका संयोजक श्यामकुमारी साहले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “महिला अधिकारका लागि अभियान चलाउँदा दाइजो प्रथा हटाउन अन्तरजातीय विवाहलाई पनि मधेशी समुदायमा स्वीकृति पाउनु पर्छ भने कुरा सार्वजनिक रूपमा राख्दा समाजले सुन्नै चाहँदैनथ्यो । अन्तरजातीय विवाह गर्नेले घरपरिवार समाज छाड्नुपर्ने अवस्था आउँथ्यो । अब पढेलेखेका सरकारी जागिरमा लागेका युवाले अन्तर्जातीय विवाहको प्रस्ताव घरपरिवारमा राख्दा सहज रूपमा स्वीकृति दिन थालिएको छ । लहान नगरपालिकामा दुई जोडी र सिराहा नगरपालिकामा अन्तरजातीय बिनादाइजोको विवाहले सकारात्मक सन्देश दिएको छ ।”
लहान–१० की रितु पासवानले विराटनगरमा स्नातक तहमा अध्ययनका क्रममा रहँदा विराटनगर–१५ का सरकारी जागिरमा रहेको सुनीलकुमार साह सुडीसँग प्रेम बसेपछि दुवै परिवारको स्वीकृतिमा भएको विवाहले दाइजो र जातीय विभेद दुवै किसिमका सामाजिक विकृति हटाउन खोजेको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो ।
उहाँको अनुसार यस विवाहमा नगरपालिका प्रमुख उपप्रमुख राजनीतिक दलका अगुवाहरू जातीय मान्यजन आएर वरवधूलाई आशीर्वाद दिएका थिए । यसलाई सामाजिक सोचाइमा आएको परिवर्तनका रूपमा लिइएको छ ।
सिराहा माडरका अवधेश झाले आफूले मनपराएकी त्यही गाउँको बन्दना मण्डलसँग बिनादाइजो विवाह गरेपछि यस विवाहलाई सामाजिक परिवर्तनका लागि व्रmान्तिकारी कदमका रूपमा लिइएको वरिष्ठ लेखक रामरिझन यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा र चेतनाको स्तर बढ्दै जान थालेपछि उमेर पुगेका युवकयुवती आफ्नो जीवनसाथी रोजेर आमाबुवालाई विवाहका लागि राखेको प्रस्ताव अब स्वीकार गर्न थालिएको छ । यस्ता अन्तरजातीय विवाहले त्यही प्रमाणित गरेको छ । जब कि यही प्रकृतिको विवाह केही दशकअगाडि स्वीकार गरिँदैन्थ्यो ।”
प्रदेश सभा सदस्य ललिता दासका अनुसार तराई मधेशका यादव, कोइरी, तेली, कलवार, गुप्तालगायतका जातिमा दाइजोका कारण कति परिवार आर्थिक रूपमा धराशायी भइसकेका छन् । अधिकांश घरपरिवारका बुवा र दाजुभाइ छोरी बहिनीको बिवाहका लागि वैदेशिक रोजगारमा गएर नै दाइजोको जोहो गरिरहेको अवस्थामा दाइजोबिनाको अन्तरजातीय विवाहले ठुलो राहत मिलेको छ ।
उहाँले उमेर पुगेका युवकयुवतीलाई अन्तरजातीय विवाह गर्न प्रोत्साहन नै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गत वैशाख २६ र २८ गते व्रmमशः नितु पासवान र सुनील साह सुँडी र अवधेश झा र बन्दना मण्डलबिच अन्तरजातीय विवाह सामाजिक धार्मिक परम्परा अनुसार नै भएको थियो । यस विवाहका लागि दुलहादुलही दुवै परिवारका अभिभावक बिनादाइजो विवाह गर्न सहमत भएका थिए ।