काठमाण्डाै । देशका धेरै कारागारबाट कैदीबन्दी भागेका छन् । नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएपछि शुरू भएको कैदीबन्दी बाहिरिने क्रम आज अबेरसम्म पनि चलेको छ ।
नख्खुबाट झन्डै १ हजार ३ सय जना सबै कैदीबन्दी गएराति नै भागेका थिए । यस्तै सुन्धारामा रहेको कारागारबाट पनि झन्डै ३ हजार ३ सय जना कैदीबन्दी गएराति नै भागेका छन् ।
डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई भने सेनाले रोकेको छ । भाग्न खोजेकाहरूलाई सेनाले अन्यत्र लगेपछि भाग्न नचाहनेहरू त्यहीँ छन् ।
डडेल्धुरा कारागारबाट भागेका ८५ कैदीबन्दीमध्ये ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको कारागारबाट भागेका ३ सय ३७ कैदीबन्दीमध्ये ४० जना पक्राउ परेका छन् ।
वीरगञ्ज, धादिङ, काभ्रेलगायतका कारागारबाट भाग्न खोज्नेहरूलाई सेनाले रोक्न प्रयास गर्दा कतिपय ठाउँमा गोली चलेको छ । सोलुखुम्बु, कास्की, सुनसरी, रौतहट, मकवानपुर, म्याग्दीलगायतका जिल्लाबाट पनि कैदीबन्दी भागेका छन् ।
सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । हिजो बिहानको विवरण अनुसार देशभर झन्डै ३० हजार कैदीबन्दी थिए । जिल्लागत विवरण अनुसार अहिलेसम्म झन्डै एक तिहाइ कैदीबन्दी भागिसकेको अनुमान छ । तर अहिलेसम्म कति भागे र कति कारागारमै छन् भन्ने यकिन विवरण कारागार विभागमा पनि प्राप्त भएको छैन ।
देशका विभिन्न कारागारबाट कैदीबन्दी निस्किएपछि सुरक्षा चुनौती बढेको छ । जेलबाट निस्कनेमा कुख्यात अपराधीहरूसमेत छन् । नख्खु, कैलाली कारागारबाट निस्केका केही कैदीहरूले अदालत र सरकारी वकिल कार्यालयहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेका छन् । यस्तै निजी सम्पत्ति लुटपाट र आगजनीको जोखिमसमेत बढेको छ ।