बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित प्रहरी चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न सात प्रकारका पटका बरामद गरेको छ। पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअपलाई चेकपोइन्टमा जाँच गर्ने क्रममा पटका फेला पारेको हो।
प्रहरीका अनुसार माछासँगै लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा विभिन्न सात प्रकारका ६४ डिब्बा पटका बरामद गरिएको हो। बरामद पटाकाको अनुमानित मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।
पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।
बरामद पटका तथा नियन्त्रणमा लिइएका दुवै जनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।