वीरगञ्ज । पर्साको इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत केही प्रहरी कर्मचारीमाथि तस्करी नियन्त्रणमा उदासीनता देखाएको, बिचौलियामार्फत आर्थिक लेनदेन गरी विभिन्न मुद्दामा पक्राउ परेकालाई उन्मुक्ति दिलाउन खोजेको तथा सीमावर्ती क्षेत्रमा अवैध गतिविधिलाई संरक्षण दिएको गम्भीर आरोप सार्वजनिक भएको छ। शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी कार्यालयभित्रै घुमुवा प्रहरी र मुद्दा शाखाको कार्यशैलीमाथि प्रश्न उठेपछि कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको भूमिकासमेत विवादमा तानिएको छ।
प्रहरी स्रोत तथा स्थानीयवासीका भनाइ उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार पोखरिया प्रहरीको मातहतमा पर्ने विभिन्न सीमावर्ती क्षेत्रमा चोरी–तस्करी बढिरहेको छ। तर, यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरी कर्मचारीमाथि नै तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेको र आर्थिक प्रलोभनमा परेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी कर्मचारी कृष्णा यादवमाथि घुमुवाको जिम्मेवारीमा रहँदा तस्करीमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरेको तथा ठूला तस्करबाट मासिक रूपमा रकम उठाउने गरेको आरोप लागेको छ। उक्त रकम कार्यालय प्रमुखसम्म पुर्याउने गरिएको दाबीसमेत स्रोतले गरेको छ ।
घुमुवा प्रहरीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, सूचना सङ्कलन र शङ्कास्पद गतिविधिको निगरानी गर्नु हो । तर , यही जिम्मेवारीमा रहेका कर्मचारीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप लाग्नु प्रहरी सङ्गठनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न हो।
स्थानीयवासीका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको मातहतमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकीटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टी, प्रसौनीभाठ्ठा, टिहुकी र बुडगाईलगायतका क्षेत्रमा तस्करीजन्य गतिविधि बढेको गुनासो छ । ठूला तस्करमाथि प्रभावकारी कारबाही नगर्ने तर सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्।
घुमुवा प्रहरीका गतिविधिबारे पटक–पटक गुनासो गर्दा पनि कार्यालय प्रमुख अर्यालले चासो नदेखाएको स्थानीयको आरोप छ । यदि यी आरोप सत्य हुन् भने त्यसले प्रहरीको निगरानी प्रणाली र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गर्छ।
घुमुवा प्रहरीको कार्यशैलीसँगै इलाका प्रहरी कार्यालय पोखरियाको मुद्दा शाखासमेत विवादमा परेको छ । मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रुपेश चौधरी र प्रहरी हवल्दार बिकाउ यादवमाथि बिचौलियामार्फत आर्थिक लेनदेन गरी विभिन्न मुद्दामा पक्राउ परेका व्यक्तिलाई राहत वा उन्मुक्ति दिलाउन भूमिका खेलेको आरोप लागेको छ ।
प्रहरी स्रोतको दाबीअनुसार लागुऔषध, ठगी, अभद्र व्यवहार र कालोबजारीलगायतका मुद्दामा संलग्न आरोपितलाई मिलाइदिने भन्दै पीडित, आरोपित वा उनीहरूका आफन्तसँग रकम माग्ने गरिएको छ । रकमको व्यवस्थापन भएपछि मुद्दा शाखामा बिचौलियाको पहुँच बढ्ने गरेको दाबीसमेत गरिएको छ ।
कार्यालय परिसरमा सेवाग्राहीभन्दा बिचौलियाको उपस्थिति बढी देखिने गरेको र उनीहरूले प्रहरी कर्मचारीसँगको सम्बन्ध प्रयोग गरी विभिन्न काम मिलाउने गरेको स्रोतको भनाइ छ । यद्यपि, आरोपित कर्मचारीले आर्थिक लेनदेन गरेको वा मुद्दामा गैरकानुनी हस्तक्षेप गरेको विषयमा निष्पक्ष छानबिनबाट पुष्टि हुन आवश्यक छ ।
सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी सामान भित्र्याउने व्यापारीको गोदामसम्म पुगेर बिचौलियाले रकमको बार्गेनिङ गर्ने गरेको आरोपसमेत सार्वजनिक भएको छ । मागअनुसार रकम नदिए प्रहरीलाई प्रयोग गरी छापामारी गराउने गरिएको दाबी स्रोतले गरेको छ ।
यसमा केही पुराना प्रहरी कर्मचारीसमेत संलग्न रहेको आरोप लगाइएको छ। यदि प्रहरीको नाम प्रयोग गरेर व्यापारीसँग रकम असुल्ने वा छापामारीको धम्की दिने काम भएको हो भने त्यो केवल व्यक्तिगत अनियमितताको विषय नभई प्रहरी संयन्त्रको दुरुपयोगसँग जोडिएको गम्भीर विषय हो ।
केही दिनअघि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लसमक्ष पोखरिया क्षेत्रका गतिविधिबारे गुनासो गरेको बताइएको छ । त्यसपछि मातहतका केही मदिरा भट्टीमा तोडफोड गरिएको भए पनि ती भट्टी पुनः सञ्चालनमा आएको स्रोतको दाबी छ ।
तोडफोडपछि पुनः सञ्चालनमा आएका मदिरा भट्टीबाट मासिक रूपमा रकम बुझाउने सर्तमा गतिविधि जारी राखिएको आशङ्कासमेत व्यक्त गरिएको छ । तर, यस विषयमा रकम लेनदेन भएको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। त्यसैले सम्बन्धित निकायले भट्टी सञ्चालनको कानुनी अवस्था, प्रहरीको कारबाही र त्यसपछिको गतिविधिबारे तथ्यमा आधारित अनुसन्धान गर्न आवश्यक छ।
सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण, अपराध अनुसन्धान र नागरिकलाई निष्पक्ष सेवा प्रदान गर्नु प्रहरीको आधारभूत दायित्व हो । तर, घुमुवा प्रहरीदेखि मुद्दा शाखासम्म आर्थिक लेनदेन , बिचौलियाको प्रभाव र तस्कर समूहसँग मिलेमतोका आरोप उठ्नुले इलाका प्रहरी कार्यालय पोखरियाको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले मातहतका कर्मचारीको गतिविधि निगरानी गर्ने, उजुरीको निष्पक्ष छानबिन गराउने र प्रहरी कार्यालयलाई बिचौलियामुक्त बनाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिन्छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले पनि सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख अर्यालले प्रहरी प्रशासनमा कुनै किसिमको आर्थिक चलखेल हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सञ्चालनमा रहेका अवैध मदिरा भट्टी तत्काल हटाउने, तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने तथा प्रहरी कर्मचारीबाट कुनै गल्ती वा गैरकानुनी गतिविधि भएको पाइएमा सम्बन्धितमाथि कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, यस विषयमा आफूले निरन्तर निगरानी गरिरहेको बताउँदै कानुनविपरीतका गतिविधिमा संलग्न जोकोहीलाई पनि उन्मुक्ति नदिइने उनको भनाइ छ।