पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले नातावाद र जनताको मतबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनताको निर्णयलाई सर्वोपरि मान्नुपर्ने बताएका छन्।
अध्यक्ष गुप्ताले आफ्नो फेसबुक स्टाटसमा ‘नातावाद होइन, जनताको निर्णय’ भन्ने आशय व्यक्त गर्दै निर्वाचित पद जनताले आफ्नो मतमार्फत प्रदान गर्ने भएकाले त्यसलाई कसैले लिखित रूपमा दिएर वा खोसेर लैजान नसक्ने उल्लेख गरेका छन्।
उनले छिपहरमाई गाउँपालिकाको राजनीतिक अवस्थाबारे चर्चा गर्दै एउटै परिवारका सदस्यहरू पालिका अध्यक्ष, प्रदेशसभा सदस्य, वडा अध्यक्षलगायतका पदमा पुग्ने अवस्थाबारे प्रश्न उठाएका छन्। साथै, कुनै पदमा पुग्ने वा पद छाड्ने विषयमा अन्तिम निर्णय जनताकै हातमा रहेको उनको भनाइ छ।
‘टाउको दुखाउनुभन्दा नागरिकको ढोका सधैँ खुला छ। सबैले आ–आफ्नो कर्म गरौँ, अन्तिम निर्णय जनताको हातमा छ,’ अध्यक्ष गुप्ताले फेसबुकमा लेखेका छन्।
उनको उक्त स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। टिप्पणी गर्ने केही व्यक्तिले जनताको सेवामा समर्पित व्यक्तिहरू जनताबाटै अनुमोदित हुनुपर्ने धारणा राखेका छन् भने अन्य प्रतिक्रियामा आपसी मनमुटावभन्दा समन्वय र सहकार्यको वातावरण बनाउनुपर्ने आशय व्यक्त गरिएको छ।
अध्यक्ष गुप्ताको उक्त अभिव्यक्तिले छिपहरमाई गाउँपालिकाको स्थानीय राजनीतिमा नातावाद, जनप्रतिनिधिको भूमिका र जनताको मतको महत्त्वबारे बहसलाई सामाजिक सञ्जालमा स्थान दिएको छ।