सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन् । सिरहा प्रहरीले अनवरलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको हो ।
सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ मा भएको घटनामा उनी संलग्न रहेको आरोप छ । उनीविरुद्ध ‘हिन्दु सम्राट सेना’ नामक संस्थाले प्रहरीमा जाहेरी दिएको थियो ।
प्रहरीले जाहेरी दर्ता गरी सिरहा जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए । खोजतलास गर्दै जाने क्रममा आइतबार राति उनलाई गोलबजारबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।
प्रहरीमा परेको जाहेरीमा गोलबजारमा दंगा भड्काउन र तोडफोड तथा आगजनीका घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाइएको छ । यस विषयमा अनुसन्धान भइरहेको डीएसपी पालले बताए ।