सुनसरी । सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता छन्।
आइतबार भएको दुर्घटनामा मोटरबोटमा १९ जना यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए। उनका अनुसार १२ जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ता चारजनाको खोजी भइरहेको छ।
मृतक तीनैजनाको शव चतरा अस्पतालमा राखिएको छ। प्रारम्भिक अनुमानअनुसार मोटरबोट सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगर्दा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
सञ्चालकले स्थानीय प्रशासनसँग अनुमति नलिई मोटरबोट सञ्चालन गरेको र क्षमताभन्दा बढी यात्रु चढाएको स्थानीयले आरोप लगाएका छन्।