बारा । इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी हवल्दार अनिरुद्ध यादवमाथि तस्करीमा संलग्न व्यक्तिहरूसँग आर्थिक साँठगाँठ गरी अवैध कारोबारलाई प्रश्रय दिएको र मालवाहक गाडीबाट असुली गरेको गम्भीर आरोप लागेको छ।
दरबन्दी बाहिरबाट काजमा खटिएका हवल्दार यादव विगत ७–८ महिनादेखि सिमरा–पथलैया सडकखण्डमा 'घुमुवा' प्रहरीका रूपमा सक्रिय रहँदै आएका छन्। सीमावर्ती नाकाहरूबाट भित्रिने अवैध मालसामानलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन उनले तस्करहरूसँग मिलेमतो गर्ने गरेको स्थानीय व्यापारिक तथा प्रहरी स्रोतको दाबी छ।
स्रोतका अनुसार, सिमरा–पथलैया क्षेत्र हुँदै काठमाडौं, हेटौंडा र पोखralगायतका प्रमुख सहरहरूमा ढुवानी हुने मालवाहक गाडीहरूलाई निशाना बनाई चेकजाँचको बहानामा रकम असुली गर्ने गरिएको छ। विशेषगरी कपडा, बटर र विभिन्न खाद्यान्नलगायतका सामानको अवैध कारोबारसँग जोडिएका व्यक्तिहरूसँग यादवको बाक्लो सम्पर्क रहेको बताइएको छ।
स्रोतले यस धन्दामा सदाम, मुकेश, सरोज, निखिल, अरमान, अरुण र सहिम लगायतका व्यक्तिहरूको नाम जोडेको छ। यी व्यक्तिहरूसँगको मिलेमतोमा अवैध सामान बोकेका सवारी साधनलाई विना रोकटोक पास गराउने गरिएको आरोप छ।
घुमुवा प्रहरीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, सूचना संकलन र गैरकानूनी गतिविधिमाथि निगरानी राख्नु हो। तर, जिम्मेवारीको दुरुपयोग गर्दै प्रहरी कर्मचारी नै तस्करको संरक्षक बनेको घटनाले सुरक्षा निकायभित्रै हलचल मच्चाएको छ।
यादवको यस्तो गतिविधि स्थानीय प्रहरी प्रमुखको संरक्षण वा प्रभावबिना सम्भव नभएको आशंका स्थानीय स्रोतले गरेको छ। असुलीबाट उठेको मोटो रकम प्रहरी संगठनकै माथिल्लो तहसम्म पुग्ने गरेको दाबी समेत गरिएको छ।
सम्बन्धित निकायबाट आधिकारिक धारणा प्राप्त भएपश्चात समाचारमा थप अपडेट समेटिनेछ। जिम्मेवार पदमा बसेका व्यक्तिबाटै हुने यस्ता गतिविधिप्रति उच्च निकायले तत्काल निष्पक्ष छानबिन गरी कडा कदम चाल्नुपर्ने माग सर्वत्र उठ्न थालेको छ।