वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति तथा प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट वितरण गरिने बताएका छन् । विधिबाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै उनले योग्य व्यक्तिहरूलाई ढुक्क भएर पार्टीको गतिविधिमा लाग्न आग्रह गरेका छन् ।
शुक्रबार राति वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा सांसद पन्तद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीको ‘हामी आउँदै छौँ’ कार्यक्रमको प्रसङ्ग जोड्दै पन्तले आगामी निर्वाचनमा रास्वपाले उम्मेदवार क्लब, राजनीतिक निकटता, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणालाई आधार बनाएर उम्मेदवार छनोट गर्ने जानकारी दिए । उनका अनुसार उम्मेदवार क्लबमार्फत प्रशिक्षित, परीक्षण गरिएका र योग्य व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउनेछन् ।
जिल्ला सभापति, प्रदेश सभापति वा कुनै सांसदसँग निकटता रहेको अथवा नातेदार भएको आधारमा मात्रै कसैले टिकट नपाउने उनको भनाइ थियो । विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोट हुने भएकाले योग्य व्यक्तिहरू विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।
कार्यक्रमको सहजीकरण रास्वपा पर्साका जिल्ला संगठन विभाग प्रमुख कृष्ण पासवानले गरेका थिए । कार्यक्रममा सभापति पन्तले उपस्थित ज्येष्ठ तथा मान्यजनबाट टीका ग्रहण गर्नुका साथै सहभागीहरूलाई टीका लगाएर दसैँको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत नेता तथा कार्यकर्ताका साथै विभिन्न क्षेत्रीय, पालिका र वडा सभापतिहरूको उपस्थिति रहेको थियो ।