वीरगञ्ज । वीरगञ्ज युवा समितिको आयोजनामा वीरगञ्जस्थित टाउन हलमा ‘डीजे डान्डिया तथा झिझिया नाइट–२०८३, दोस्रो संस्करण’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ५०० भन्दा बढी दर्शक तथा सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो।
वीरगञ्ज युवा समितिका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक बिकी कुमार गुप्ताको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, चिकित्सक, बैंककर्मी, सामाजिक अभियन्ता, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा वीरगञ्जमा पहिलो पटक प्रस्तुत गरिएको गोरिल्लाको विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ। गोरिल्लाको रोमाञ्चक प्रस्तुतिले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।
त्यसैगरी, आधुनिक डीजे संगीतमा आधारित डान्डिया नृत्य र मधेशको मौलिक सांस्कृतिक पहिचान बोकेको झिझिया नृत्यको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। आधुनिक मनोरञ्जनसँगै स्थानीय संस्कृति र परम्परालाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा सहभागीबीच उत्कृष्ट नृत्य प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई ट्रली सुटकेस, द्वितीय हुनेलाई एप्पल कम्पनीको पावर बैंक र तृतीय हुनेलाई सानो मिक्सर ग्राइन्डर प्रदान गरिएको थियो।
प्रतियोगितामा दर्शकको प्रत्यक्ष सहभागिता र विजेतालाई पुरस्कार वितरण गरिएपछि कार्यक्रम थप रोचक र उत्साहपूर्ण बनेको थियो।
आधुनिक मनोरञ्जन र मौलिक संस्कृतिलाई एकै मञ्चमा प्रस्तुत गरिएको यस कार्यक्रमले युवामाझ सांस्कृतिक गतिविधिप्रतिको आकर्षण बढाउन सहयोग पुगेको आयोजकको विश्वास छ। ५०० भन्दा बढीको सहभागिताले वीरगञ्जमा युवाको नेतृत्वमा आयोजना हुने सांस्कृतिक कार्यक्रमप्रतिको उत्साहसमेत झल्काएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, अतिथि, प्रायोजक, स्वयंसेवक तथा सहयोगी टोलीप्रति वीरगञ्ज युवा समितिले आभार व्यक्त गरेको छ। समितिले आगामी दिनमा युवा सशक्तीकरण, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।