काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गरेको थियो।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।
अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने जनाइएको छ।
त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको छ।
त्यस्तै बैठकमा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको छ। पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने तथा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग नेकपाले गरेको छ।