वीरगंज । पर्सा जिल्लाको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोप सार्वजनिक भएको छ। प्रहरीको आधिकारिक जिम्मेवारीमा नरहेका व्यक्तिले सुरक्षा निकायको नाम प्रयोग गरी धम्क्याउने, रकम माग्ने तथा रकम नदिने व्यापारीको सामान पक्राउ गराइदिने भन्दै त्रास सिर्जना गर्ने गरेको आरोप लागेको हो।
पर्साको पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय अशोक वर्णवालले अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा यस्तो गतिविधि गर्ने गरेको स्रोतको दाबी छ। उक्त क्षेत्र इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रअन्तर्गत पर्छ।
स्रोतका अनुसार वर्णवालले कहिले सशस्त्र प्रहरीको घुमुवा त कहिले नेपाल प्रहरीको घुमुवा भएको बताउँदै सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने गरेका छन्। उनले प्रायः मास्क लगाएर अनुहार छोप्ने गरेको र भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारणलाई समेत आफू प्रहरीको घुमुवा भएको बताउँदै धम्क्याएर रकम माग्ने गरेको आरोप छ। रकम नदिए सामान पक्राउ गराइदिने भन्दै उनले सर्वसाधारणलाई त्रसित बनाउने गरेको बताइएको छ।
वर्णवालसँगै पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादव नाम गरेका एक युवा पनि सीमावर्ती क्षेत्रमा हिँड्ने गरेको स्रोतले जनाएको छ। यादवलाई पनि घुमुवा प्रहरीजस्तै देखिने गरी साथमा लिएर हिँड्ने गरेको आरोप छ। यस विषयमा प्रहरीले यादवलाई कार्यालयमा बोलाएर सोधपुछसमेत गरेको जनाएको छ।
वर्णवालमाथि सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने व्यापारी तथा तस्करीमा संलग्न व्यक्तिहरूसँग समेत रकम असुल्ने गरेको आरोप लागेको छ। रकम मात्र नभई मासु तथा मदिरासहितको भोजभतेरको व्यवस्था गर्न दबाब दिने गरेको दाबीसमेत स्रोतले गरेको छ। माथिल्लो तहका प्रहरी अधिकारीहरूसँग आफ्नो चिनजान रहेको भन्दै उनले प्रहरी अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको १३ नम्बर गण तथा स्थानीय प्रहरी र सशस्त्र प्रहरी इकाइका प्रमुखहरूको नाममा समेत रकम माग्ने गरेको आरोप छ।
स्रोतका अनुसार उनले रकम नदिने व्यापारीको सामान पक्राउ गराउन प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित निकायमा सूचना दिने गरेको बताइएको छ। सामान पक्राउ परेपछि आफ्नो प्रभावका कारण कारबाही गराएको भन्दै व्यापारीलाई थप रकम दिन दबाब दिने गरेको आरोपसमेत छ। प्रहरी प्रशासन आफ्नै प्रभावमा चल्ने र आफूले भनेअनुसार काम हुने गरेको दाबी गर्दै उनले व्यापारी तथा स्थानीय बासिन्दालाई प्रभावित पार्ने गरेको स्रोतको भनाइ छ।
वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेको स्रोतले जनाएको छ। यसरी सुरक्षा निकायका अधिकारीहरूको नाम र पहुँचको चर्चा गर्दै सर्वसाधारण तथा व्यापारीबाट अनुचित लाभ लिने प्रयास भएको हो वा होइन भन्ने विषयमा छानबिन आवश्यक देखिएको छ।
स्रोतका अनुसार वर्णवाल विगतमा आफैँ सीमावर्ती क्षेत्रमा सामान ओसारपसार तथा तस्करीमा संलग्न रहने गरेका थिए। पछि सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेको दाबी गरिएको छ।
उनले आफ्नी छोरीको विवाहमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई निमन्त्रणा गरी बोलाएको विषयलाई समेत आफ्नो उच्च तहसम्म पहुँच रहेको देखाउन प्रयोग गर्ने गरेको स्रोतको दाबी छ। उक्त सम्बन्ध र पहुँचको चर्चा गर्दै सर्वसाधारणलाई विभिन्न काम गराइदिने, सीमाबाट सामान ओसारपसार गर्न सहज बनाइदिने तथा सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिने गरेको आरोपसमेत लागेको छ। यस्ता गतिविधिबारे प्रश्न उठेपछि उनी केही वर्ष सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
केही महिनाअघि इलाका प्रहरी कार्यालय पोखरियाका तत्कालीन प्रहरी निरीक्षक प्रदीप पौडेलसम्म पनि वर्णवालले आफूलाई घुमुवा बताउँदै सीमावर्ती क्षेत्रमा रकम असुल्ने गरेको सूचना पुगेको स्रोतले जनाएको छ। उक्त सूचना पाएपछि पौडेलले उनलाई कार्यालयमा उपस्थित हुन फोन गरेको र त्यसपछि उनी भारततर्फ भागेको स्रोतको दाबी छ। प्रहरी निरीक्षक पौडेल निलम्बन भएपछि मात्र उनी पुनः फर्किएको बताइएको छ। त्यसपछि आफूविरुद्ध पक्राउको प्रक्रिया अघि नबढोस् भन्दै विभिन्न नेतामार्फत दबाब तथा सिफारिस गराउन खोजेको दाबीसमेत स्रोतले गरेको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालसँग बुझ्दा उनले आफूहरूकहाँ पनि यससम्बन्धी सूचना आएको पुष्टि गरे। अर्यालका अनुसार वर्णवालसँग सीमावर्ती क्षेत्रमा हिँड्ने गरेको भनिएका दीपक यादवलाई प्रहरीले कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो।
“हामीकहाँ पनि यस विषयमा सूचना आएको थियो। सोही आधारमा दीपक यादवलाई ल्याएर सोधपुछ गरी चेतावनी दिएर छाडेका छौँ। उनले अशोकसँग एक दिन सीमावर्ती क्षेत्रमा गएको स्वीकार गरेका छन्। तर अशोकका अन्य गतिविधिबारे आफूलाई जानकारी नभएको बताएका छन्,” प्रहरी निरीक्षक अर्यालले बताए।
अर्यालका अनुसार प्रहरीले दुवै व्यक्तिबारे सूचना प्राप्त गरेको थियो। सोधपुछका लागि बोलाउँदा एक जनालाई मात्रै फेला पार्न सकिएको र अर्का व्यक्तिको खोजी तथा घटनाबारे बुझ्ने काम भइरहेको उनले बताए। त्यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको नाम प्रयोग गरी सर्वसाधारण तथा व्यापारीलाई धम्क्याएर रकम असुली गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिएको छ। साथै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरूको नाम प्रयोग गरेर कसैले अवैध लाभ लिएको भए त्यसको समेत अनुसन्धान गरी दोषी पाइएकालाई कानुनी दायरामा ल्याउनुपर्ने देखिन्छ। सीमामा खटिएका सुरक्षा निकायले यस्ता आरोपको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।