वीरगञ्ज । पर्सा जिल्लाको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोप लागेका अशोक वर्णवाल पक्राउ परेका छन्। उनलाई ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरिया मा राखेर सोधपुछ भइरहेको छ। स्रोतका अनुसार उनीमाथि मुद्दा नचलाउन विभिन्न नेतामार्फत प्रहरीमाथि दबाब गराउने प्रयास भइरहेको दाबी गरिएको छ। यद्यपि, यसबारे प्रहरीले औपचारिक पुष्टि गरेको छैन।
पर्साको पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय अशोक वर्णवालले अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई कहिले नेपाल प्रहरी त कहिले सशस्त्र प्रहरीको घुमुवा भन्दै सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको आरोप सार्वजनिक भएको थियो। उक्त क्षेत्र ईलाका प्रहरी कार्यालय पोखरिया को कार्यक्षेत्रअन्तर्गत पर्छ।
स्रोतका अनुसार वर्णवालले प्रायः मास्क लगाएर अनुहार छोप्ने गरेका थिए। भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारणलाई समेत आफू प्रहरीको घुमुवा भएको बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने भन्दै त्रास सिर्जना गर्ने गरेको आरोप छ।
वर्णवालसँगै पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादव नामका एक युवा पनि सीमावर्ती क्षेत्रमा उनीसँगै हिँड्ने गरेको स्रोतले जनाएको छ। उनलाई पनि घुमुवा प्रहरीजस्तै देखिने गरी साथमा लिएर हिँड्ने गरेको आरोप छ। यस विषयमा प्रहरीले यादवलाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बोलाएर सोधपुछसमेत गरेको थियो।
स्रोतका अनुसार वर्णवालले सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने व्यापारी तथा तस्करीमा संलग्न व्यक्तिहरूसँग रकम असुल्ने, मासु तथा मदिरासहितको भोजभतेरको व्यवस्था गर्न दबाब दिने तथा माथिल्लो तहका प्रहरी अधिकारीहरूसँग आफ्नो चिनजान रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको १३ नम्बर गण तथा स्थानीय प्रहरी र सशस्त्र प्रहरी इकाइका प्रमुखहरूको नाममा समेत रकम माग्ने गरेको आरोप छ।
रकम नदिने व्यापारीको सामान पक्राउ गराउन प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित निकायमा सूचना दिने, त्यसपछि आफ्नो प्रभावका कारण कारबाही गराएको भन्दै थप रकम दिन दबाब दिने गरेको आरोपसमेत स्रोतले गरेको छ। प्रहरी प्रशासन आफ्नै प्रभावमा चल्ने र आफूले भनेअनुसार काम हुने गरेको दाबी गर्दै व्यापारी तथा स्थानीय बासिन्दालाई प्रभावित पार्ने गरेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए। यसरी सुरक्षा निकायका अधिकारीहरूको नाम र पहुँचको चर्चा गर्दै सर्वसाधारण तथा व्यापारीबाट अनुचित लाभ लिने प्रयास भएको हो वा होइन भन्ने विषयमा छानबिन आवश्यक देखिएको छ।
स्रोतले वर्णवाल विगतमा आफैँ सीमावर्ती क्षेत्रमा सामान ओसारपसार तथा तस्करीमा संलग्न रहने गरेको र पछि सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेको दाबी गरेको छ।
उनले आफ्नी छोरीको विवाहमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई निमन्त्रणा गरी बोलाएको विषयलाई समेत आफ्नो उच्च तहसम्म पहुँच रहेको देखाउन प्रयोग गर्ने गरेको स्रोतको दाबी छ। सोही सम्बन्ध र पहुँचको चर्चा गर्दै सर्वसाधारणलाई विभिन्न काम गराइदिने, सीमाबाट सामान ओसारपसार सहज बनाइदिने तथा सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिने गरेको आरोपसमेत लागेको छ। यस्ता गतिविधिबारे प्रश्न उठेपछि उनी केही वर्ष सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
केही महिनाअघि ईलाका प्रहरी कार्यालय पोखरिया का तत्कालीन प्रहरी निरीक्षक प्रदीप पौडेलसम्म पनि वर्णवालले आफूलाई घुमुवा बताउँदै सीमावर्ती क्षेत्रमा रकम असुल्ने गरेको सूचना पुगेको स्रोतले जनाएको छ। उक्त सूचना पाएपछि पौडेलले उनलाई कार्यालयमा उपस्थित हुन फोन गरेको र त्यसपछि उनी भारततर्फ भागेको स्रोतको दाबी छ। प्रहरी निरीक्षक पौडेल निलम्बन भएपछि मात्र उनी पुनः फर्किएको बताइएको छ। त्यसपछि आफूविरुद्ध पक्राउको प्रक्रिया अघि नबढोस् भन्दै विभिन्न नेतामार्फत दबाब तथा सिफारिस गराउन खोजेको दाबीसमेत स्रोतले गरेको छ।
यसअघि यस विषयमा ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरीक्षक भानुभक्त अर्यालले आफूहरूकहाँ पनि यससम्बन्धी सूचना आएको पुष्टि गरेका थिए। उनका अनुसार दीपक यादवलाई कार्यालयमा बोलाएर सोधपुछ गरी चेतावनी दिएर छाडिएको थियो। उनले अशोकसँग एक दिन सीमावर्ती क्षेत्रमा गएको स्वीकार गरे पनि अशोकका अन्य गतिविधिबारे आफूलाई जानकारी नभएको बताएका थिए।
प्रहरी निरीक्षक अर्यालका अनुसार प्रहरीले दुवै व्यक्तिबारे सूचना प्राप्त गरेको थियो। सोधपुछका लागि बोलाउँदा एक जनालाई मात्रै फेला पार्न सकिएको र अर्का व्यक्तिको खोजी तथा घटनाबारे बुझ्ने काम भइरहेको बताएका थिए। त्यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
हाल अशोक वर्णवाल पक्राउ परेपछि उनीमाथि लागेका आरोप, सुरक्षा निकायको नाम प्रयोग गरी गरिएको भनिएको असुली तथा सम्भावित अन्य गतिविधिबारे ईलाका प्रहरी कार्यालय पोखरिया ले थप अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।