काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन्। लुम्बिनी गत संस्करणको साविक विजेता हो भने सुदूरपश्चिम लगातार तेस्रोपटक पहिलो क्वालिफायर खेल्दैछ। सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेता बनेको थियो।
आजको खेलमा विजयी हुने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ। त्यसका लागि उसले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
यसैगरी, इलिमिनेटरमा भोलि काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
एनपीएलको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने तालिका रहेको छ।