काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ओमप्रकाश गिरीविरुद्ध मुद्दा दायर गरेको छ।
नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद र ओहदा प्राप्त गरेको आरोपमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गिरी फेटामा ०७८ जेठ १ देखि नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्त भएका थिए।
नियुक्तिका लागि उनले पेस गरेको तीनवर्षे बि.एड. तहको लब्धांकपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उनको नभई अन्य व्यक्तिको भएको खुलेको अख्तियारले जनाएको छ।