काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दललाई बोलाएको छ।
आयोगले यही मङ्सिर ४ गते बिहान ११ः३० बजे राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका प्रतिनिधिसँग छलफल गर्ने भएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी तथा राजनीतिक दलहरूको सुझावका विषयमा छलफल हुनेछ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ। आयोगले निर्वाचनको तयारीका लागि कम्तीमा १२० दिन अर्थात् चार महिना समय आवश्यक पर्ने जनाएको छ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदैछ। सोही समयसीमालाई ध्यानमा राख्दै आगामी पुस महिनाभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने देखिएको छ।
प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि क्रमशः परामर्श गरिनेछ। त्यसपछि सरकारसँग निर्वाचनको मिति र आवश्यक व्यवस्थापनबारे छलफल गरी उपयुक्त मिति घोषणा गर्न सुझाव दिइनेछ।
यसैबीच निर्वाचन आयोगले निर्वाचनको पूर्वतयारीसमेत अघि बढाएको छ। आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यसँगै निर्वाचनसम्बन्धी अन्य नियमित तयारीलाई पनि तीव्रता दिएको जनाएको छ।