वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका–२ स्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्। वडा कार्यालयबाट प्रवाह हुने सेवामा ढिलासुस्ती, लापरबाही तथा आर्थिक अनियमितता भएको आरोप लगाउँदै आक्रोशित स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयवासीका अनुसार वडा कार्यालयबाट सर्वसाधारणले प्राप्त गर्नुपर्ने सामान्य सेवासमेत समयमा उपलब्ध हुन सकेको छैन। सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपरेको र पटक–पटक कार्यालय धाउँदा पनि काम नभएको उनीहरूको गुनासो छ।
त्यसैगरी, वडा अध्यक्ष मुकुटप्रसाद चौहानमाथि आर्थिक पारदर्शिता कायम नगरेको गम्भीर आरोप लागेको छ। स्थानीयवासीले पटक–पटक वडा कार्यालयको आय–व्यय तथा विभिन्न योजनाको हरहिसाब माग्दा समेत उपलब्ध नगराइएको बताएका छन्।
स्थानीयवासीले पोखरीको ठेक्का प्रक्रियामा समेत अनियमितता भएको आरोप लगाएका छन्। वडा अध्यक्ष चौहानले आफ्ना निकटस्थ व्यक्तिलाई पोखरीको ठेक्का दिएको र सोही पोखरीको मर्मतका नाममा पटक–पटक बजेट खर्च गरिएको भन्दै स्थानीयले आर्थिक पारदर्शितामाथि प्रश्न उठाएका छन्।
स्थानीयको आरोपअनुसार सार्वजनिक सम्पत्तिको ठेक्का तथा मर्मतसम्भारमा पारदर्शिता अपनाउनुको सट्टा मनोमानी ढंगले काम गरिएको छ। सार्वजनिक बजेटको खर्च विवरण र ठेक्कासम्बन्धी कागजात सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
जनप्रतिनिधिले जनताको प्रश्नको जवाफ दिनु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु र सरकारी बजेटको पारदर्शी ढंगले उपयोग गर्नु प्रमुख जिम्मेवारी हो। तर, वडा अध्यक्षमाथि उठेका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको भन्दै स्थानीयवासी थप आक्रोशित बनेका छन्।
स्थानीयवासीले वडा कार्यालयको सेवा प्रवाह सुधार गर्न, पोखरी ठेक्का तथा मर्मतसम्भारमा भएको खर्चको निष्पक्ष छानबिन गर्न र सम्पूर्ण आय–व्यय सार्वजनिक गर्न माग गरेका छन्।
यता, वडा अध्यक्ष मुकुटप्रसाद चौहानको यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। उनको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समेटिनेछ।