पर्सा । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड १८ लाख ९ हजार ८३९ रुपैयाँ बराबरको बजेट पारित भएको छ।
शुक्रबार पोखरिया नगरपालिकाको सभाहलमा सम्पन्न ११औँ नगरसभाले उक्त बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शिव सिंह पटेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए।
नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानले नगरसभाको उद्घाटन गरेका थिए। नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न सभामा उनले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।
नगरप्रमुख चौहानले नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिमा ढिलाइ भए पनि व्यवस्थित र प्रभावकारी रूपमा आएको उल्लेख गर्दै कर्मचारीलाई आठ महिनाको तलबसमेत खुवाउने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाको टाउन प्लानिङको काम छिट्टै अगाडि बढाइने जानकारी दिँदै नगरपालिकामा विशेष बजेट विनियोजन गरिएको पनि बताए।
यसअघि सम्पन्न भएका विकास निर्माणका कामबारे विशेष पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनको भनाइ थियो।
नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन, भौतिक पूर्वाधार, सिँचाइ, महिला तथा बालबालिकाको उत्थान, खेलकुद र ज्येष्ठ नागरिकको सम्मानलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव सिंह पटेलले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताउँदै सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे।
नगरसभामा वडाध्यक्षहरू प्रमोद गिरी, केदारप्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, नौसाद आलम, सोनालाल साह र किशोरी साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, नगरपालिका कर्मचारी, लेखापाल, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौशलेन्द्र झा, आईटी अफिसर अरविन्द द्विवेदी, सन्दीप साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नरेन्द्र साहले गरेका थिए।