काठमाडौं। ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले नेपाल प्रहरीको वर्तमान संकटलाई व्यक्ति विशेषमाथि लागेका आरोपमा मात्र सीमित नगरी संस्थागत सुधार, जवाफदेहिता र राष्ट्रिय सुरक्षाको बृहत् दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनदेखि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेका आरोप तथा नेपाल प्रहरीको पछिल्लो प्रेस विज्ञप्तिसम्मका घटनाक्रमले प्रहरीको संस्थागत विश्वसनीयता, व्यावसायिकता र राज्यका सुरक्षा निकायको भूमिकाबारे गम्भीर बहस आवश्यक बनाएको उनको धारणा छ।
पन्तले भने, “नेपालमा पछिल्लो समय चरणबद्ध रूपमा राज्यका विभिन्न संस्थाहरूमाथि प्रहार भइरहेको देखिन्छ। यसलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। राज्यका संस्थाहरूको विश्वसनीयता, मनोबल र कार्यक्षमता कमजोर हुँदै जाँदा त्यसले अन्ततः राज्यलाई असफल बनाउने रणनीतिक जोखिम निम्त्याउन सक्छ। त्यसैले कुनै पनि घटनाको सतही व्याख्या होइन, त्यसको व्यापक सन्दर्भ र सम्भावित परिणाम बुझ्न आवश्यक छ। 'अ’ गर्दा अलङ्कार पनि बुझ्नुपर्छ।”
पन्तका अनुसार, प्रहरी राज्यको पहिलो सुरक्षा पंक्तिका रूपमा रहेको महत्त्वपूर्ण संस्था हो। त्यसैले संस्थाभित्रका कमजोरी, अनियमितता वा अधिकार दुरुपयोगमाथि निष्पक्ष छानबिन तथा कानुनअनुसार कारबाही हुनुपर्छ। तर, केही व्यक्तिका गल्तीका आधारमा समग्र संस्थालाई नै दोषी ठहर गर्नु वा त्यसको व्यावसायिक क्षमता र विश्वसनीयतालाई कमजोर पार्नु उचित हुँदैन।
“हाम्रो उद्देश्य दोषीलाई संरक्षण गर्नु होइन, दोषीलाई कानुनी दायरामा ल्याउँदै संस्थागत सुधार गर्नु हो। नेपाल प्रहरीलाई अझ सक्षम, जवाफदेही र विश्वसनीय बनाउनु आजको आवश्यकता हो,” उनले भने।
उनले ‘एआईको युगमा नेपाल’ अभियानको मूल उद्देश्य नेपालको दीर्घकालीन राष्ट्रिय हितका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्नु रहेको बताए। नेपालको भौगोलिक संवेदनशीलता, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याइरहेको परिवर्तनलाई बुझ्दै राजनीतिक दल, राज्यका निकाय, युवा पुस्ता, निजी क्षेत्र र नागरिक समाजबीच साझा संवाद आवश्यक रहेको उनको भनाइ छ।
पन्तले नेपाल प्रहरीको वर्तमान संकटलाई समाधान गर्दै धार्मिक तनाव, सामुदायिक द्वन्द्व, सामाजिक विखण्डन तथा सम्भावित बाह्य सुरक्षा चुनौतीहरूको सामना गर्न समग्र राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
“नेपालको वर्तमान अवस्था जटिल र संवेदनशील छ। प्रहरी संगठनका सदस्यलाई जवाफदेही बनाउने प्रक्रिया र राष्ट्रिय सुरक्षामा उत्पन्न हुन सक्ने चुनौतीबीच संवेदनशील सन्तुलन कायम गर्न आवश्यक छ। संस्थाभित्रका कमजोरीमाथि कारबाही हुनुपर्छ, तर त्यस क्रममा समग्र सुरक्षा प्रणालीको क्षमता, संस्थागत मनोबल र विश्वसनीयतामा पर्न सक्ने असरलाई पनि ध्यान दिनुपर्छ। नेपाल प्रहरीको मनोबल उच्च राख्नु राष्ट्रिय सुरक्षाकै हितमा छ,” उनले भने।