सुनसरी l नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीले प्रहरी वरिष्ठ नायब निरीक्षक रञ्जनकुमार सिंहलाई २०८३ साल असोज महिनाको ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित गरेको छ।
ट्राफिक प्रहरी कार्यालय इनर्वा, सुनसरीमा कार्यरत सिंहले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट गरिएको हो।
कार्यालयका अनुसार सिंहले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गर्दै आएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक प्रयोगकर्तामा जनचेतना अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सक्रिय भूमिका निर्वाह गरेको जनाइएको छ।
त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उल्लङ्घन नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी गतिविधिमा सक्रियता देखाएको भन्दै कार्यालयले उनको कार्यसम्पादनको प्रशंसा गरेको छ।
उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सिंहलाई ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको हो। यस सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी बन्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
