वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित सातदिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ । समापनका अवसरमा स्वयंसेवकहरूले विभिन्न शारीरिक अभ्यास, अनुशासित प्रदर्शन तथा झाँकी प्रस्तुत गर्नुका साथै वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा भव्य र्याली निकालेका छन् ।
सात दिनसम्म सञ्चालित प्रशिक्षण वर्गमा सहभागी स्वयंसेवकहरूले तालिमका क्रममा सिकेका शारीरिक, मानसिक तथा बौद्धिक अनुशासनसम्बन्धी सीप र अभ्यास प्रदर्शन गरेका थिए । उनीहरूको प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रममा विभाग सञ्चालक अशोक बैद्य, जिल्ला सञ्चालक माधव राजपाल, नगर सञ्चालक प्रेम कुशवाहा, वीरगन्ज भिस्वा गुम्बाका प्रतिनिधि तथा राष्ट्रिय सहकार्यवाह रञ्जित सराफलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रशिक्षणको समापनका अवसरमा स्वयंसेवकहरूले विभिन्न झाँकीसहित वीरगन्ज महानगरपालिकाका प्रमुख बजार तथा सडकहरूमा र्याली निकालेका थिए । नगरका विभिन्न स्थानको परिक्रमा गर्दै निकालिएको र्यालीपछि कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पछिल्लो समय विभिन्न माध्यमबाट हिन्दू धर्म तथा संस्कृतिमाथि प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले नेपाल र हिन्दू धर्मको सम्मान तथा संरक्षणमा जोड दिँदै नेपाल पुनः हिन्दू राष्ट्र बन्ने विश्वाससमेत व्यक्त गरेका थिए ।