पोखरिया । पर्साको पोखरिया नगरपालिकाको ११औँ नगरसभामा वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेश साह कानुलाई सार्वजनिक रूपमै गालीगलौज गर्दै कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ। नगरसभाजस्तो सार्वजनिक तथा औपचारिक कार्यक्रममा जनप्रतिनिधिहरूकै उपस्थितिमा पत्रकारमाथि यस्तो व्यवहार भएको आरोप सार्वजनिक भएपछि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको विषय पुनः चर्चामा आएको छ।
पत्रकार शैलेश साह कानुका अनुसार, आफूले पोखरिया नगरपालिका–४, सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापनसम्बन्धी समाचार प्रकाशन गरेपछि वडा अध्यक्ष कानु असन्तुष्ट बनेका थिए। सोही समाचारलाई लिएर नगरसभाको खुला मञ्चबाट आफूलाई गालीगलौज गर्दै अपशब्द प्रयोग गरिएको र कुटपिट गर्ने धम्कीसमेत दिइएको उनको आरोप छ।
पत्रकार कानुले विद्यालयमा कर्मचारी नियुक्तिका लागि प्रकाशित विज्ञापनको निष्पक्षता र पारदर्शितामाथि स्थानीयवासीले उठाएका प्रश्नलाई समेटेर समाचार प्रकाशन गरेका थिए।
विद्यालयले विद्यालय कर्मचारी एक जना र कार्यालय सहयोगी एक जना गरी दुई पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो। संघीय अनुदानबाट सेवा सुविधा उपलब्ध गराउने गरी प्रकाशित विज्ञापनमा विद्यालय कर्मचारी पदका लागि कक्षा १२ उत्तीर्ण तथा आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्ने र कार्यालय सहयोगी पदका लागि कक्षा ५ उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको थियो।
विज्ञापनअनुसार विद्यालय कर्मचारी पदका लागि लिखित, प्रयोगात्मक तथा अन्तर्वार्तामार्फत र कार्यालय सहयोगी पदका लागि अन्तर्वार्तामार्फत छनोट गर्ने व्यवस्था गरिएको थियो।
उक्त नियुक्ति प्रक्रिया निष्पक्ष हुनेमा स्थानीयवासीले आशंका व्यक्त गर्दै परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिने वा राजनीतिक पहुँचका आधारमा नियुक्ति प्रक्रिया प्रभावित हुन सक्ने आशंका सार्वजनिक गरेका थिए। यद्यपि, प्रश्नपत्र चुहावट वा कुनै उम्मेदवारलाई लक्षित गरी विज्ञापन गरिएको भन्ने विषयको स्वतन्त्र पुष्टि भएको छैन।
विद्यालयमा यसअघि नै दुई जना कार्यालय सहयोगी कार्यरत रहेको अवस्थामा पुनः कार्यालय सहयोगी पदमा विज्ञापन गरिएको विषयले पनि प्रश्न उठाएको छ।
प्राप्त विवरणअनुसार, विद्यालयमा दुई जना कार्यालय सहयोगी हुँदाहुँदै विद्यार्थीलाई विद्यालयको मूलढोका खोल्ने तथा बन्द गर्ने जिम्मेवारी दिइएको भिडियोसमेत सार्वजनिक भएको छ। यसले विद्यालयको कर्मचारी व्यवस्थापन र प्रशासनिक जिम्मेवारीमाथि प्रश्न खडा गरेको छ।
त्यस्तै, २०८१ साल साउन १ गतेदेखि खारेज भएको भनिएको एक जना कार्यालय सहयोगीको तलब तथा भत्ता २०८३ सालमा भुक्तानी भएको देखाउने प्रमाण प्राप्त भएको दाबी गरिएको छ। यदि उक्त विवरण कागजातबाट पुष्टि भएमा खारेज भइसकेको पदमा कुन आधारमा तलब तथा भत्ता भुक्तानी गरियो भन्ने विषयमा छानबिन आवश्यक देखिन्छ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद रौनियारसँग प्रतिक्रिया लिँदा उहाँले विद्यालयमा दुई जना कार्यालय सहयोगी कार्यरत रहेको जानकारी दिनुभएको थियो।
विद्यालयको कर्मचारी दरबन्दी, नियुक्ति तथा खारेजीसम्बन्धी निर्णय, हाजिरी अभिलेख र तलब भुक्तानीको विवरण सार्वजनिक गरी सत्यतथ्य स्पष्ट पार्न सम्बन्धित निकायसँग माग गरिएको छ।
पत्रकार कानुका अनुसार, विद्यालयको नियुक्ति तथा व्यवस्थापनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै वडा अध्यक्ष कानुले नगरसभाको खुला मञ्चबाट आफूलाई गालीगलौज तथा कुटपिट गर्ने धम्की दिएका थिए।
नगरसभा स्थानीय तहको नीति, योजना, बजेट तथा जनसरोकारका विषयमा छलफल हुने महत्त्वपूर्ण सार्वजनिक थलो हो। समाचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्ने, प्रमाणसहित खण्डन गर्ने वा कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै सार्वजनिक मञ्चबाट पत्रकारलाई धम्की दिइएको आरोपले गम्भीर प्रश्न उठाएको छ।