पर्सा । ज्योती जागरण दैनिकको प्रधान सम्पादकमा वरिष्ठ पत्रकार लालबाबु बानियाँ नियुक्त हुनुभएको छ। ज्योती जागरण दैनिकको सञ्चालक समितिले शुक्रबार बानियाँलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो।
ज्योती दैनिकको वीरगञ्जस्थित कार्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सञ्जीव मिश्रले बानियाँलाई स्वागत गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष मिश्रले बानियाँको सम्पादकीय नेतृत्वमा ज्योती जागरण दैनिकले पत्रकारिताको क्षेत्रमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय बानियाँ पर्साको धोबीनी गाउँपालिकाका बासिन्दा हुनुहुन्छ। उहाँले विभिन्न सञ्चारमाध्यमबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो। लामो अनुभव, व्यावसायिक दक्षता र पत्रकारिताप्रतिको प्रतिबद्धताका कारण उहाँको नियुक्तिलाई सञ्चार क्षेत्रले महत्त्वका साथ हेरेको छ।
निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारितालाई प्राथमिकता दिँदै सत्यतथ्य समाचार सम्प्रेषण तथा जनताका आवाजलाई प्रभावकारी रूपमा उजागर गर्न बानियाँको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
बानियाँको नियुक्तिप्रति ज्योती दैनिक परिवारले खुसी व्यक्त गर्दै सफल, उपलब्धिमूलक र प्रेरणादायी कार्यकालको शुभकामना व्यक्त गरेको छ।