हेटौँडा । मकवानपुर प्रहरीले ६ किलो ४० ग्राम अवैध लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थाहा नगरपालिका–९ स्थित चित्लाङ प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको जिपलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा राखिएको लगेज ब्यागभित्र लुकाइछिपाइ ल्याइएको चरेश बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लगेजभित्र लत्ताकपडा राखी त्यसको बीचमा प्लास्टिकले बेरेर चरेश लुकाइएको अवस्थामा फेला परेको थियो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई बनेपा नगरपालिका–८ मा बस्दै आएका ३३ वर्षीय हेविन श्रेष्ठ (चालक) र चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भई वडा नम्बर २ मा बस्दै आएकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।