जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबिच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा सकारात्मक छलफल भइरहेको नेताहरूले बताएका छन् ।
वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र जनताले पनि सरकारको कामको अनुभूति गर्न नसकेको भन्दै एमालेले समर्थन फिर्ता लिएको मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बताए । अब अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने प्रयासमा जुटेको उनको भनाइ छ ।
सरोजले कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको जिकिर गरे । उनले भने, ‘हामीले चार–पाँच महिना सरकारमा बसेर काम गर्यौँ । तर, उहाँहरूले गरेको सहमति कार्यान्वयन गर्न मान्नुभएन । हामीकहाँ पनि सरकारको कामलाई लिएर जनताका गुनासा आइरहेकाले समर्थन फिर्ता लिन बाध्य भयौँ ।’
एमाले नेता सरोजका अनुसार नयाँ सरकार गठनका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच केन्द्रमा एक चरणको छलफल भइसकेको र उक्त छलफल सकारात्मक भएको बताउँदै प्रदेश तहमा पनि जसपा तथा जनमत पार्टीसँग संवाद भइरहेको बताए । ‘जसपाका संसदीय दलका नेतासँग प्रदेश तहमा पनि सामान्य छलफल भएको छ । वार्ता सकारात्मक छ, तर निर्णय भइसकेको छैन । चाडपर्व सकिएपछि सहमतिमा पुग्ने गरी छलफललाई अघि बढाउँछौँ,’ उनले भने ।
जसपासँगै जनमत पार्टीसँग पनि सरकार गठनका विषयमा छलफल भएको उल्लेख गर्दै एमालेका सरोजले दुवै दल एमालेसँग मिलेर सरकार बनाउन सकारात्मक देखिएको बताए । चाडपर्व सकिएपछि तीन दलबिच सहमति जुट्ने उनको भनाइ छ । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावनालाई ध्यानमा राखेर गृहकार्य भइरहेको बताए । उनका अनुसार प्रदेशको राजनीतिमा सहमति गरेर पछि हट्ने प्रवृत्ति देखिएकाले ठोस सहमति नहुँदासम्म अहिलेको छलफललाई अन्तिम निष्कर्षका रूपमा लिन सकिँदैन । ‘अहिलेसम्मको छलफलमा जसपा र जनमत पार्टी एमालेसँग मिलेर सरकार गठन गर्न सकारात्मक देखिएका छन् । तर, अन्तिममा के हुन्छ, त्यो हेर्न बाँकी छ,’ उनले भने । नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने अहिलेसम्म ठोस छलफल नभएको यादवले स्पष्ट पारे ।
जसपाको आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी
यता, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि एमाले, जसपा र जनमत पार्टी मिलेर मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार तीनै दलका अध्यक्षबिच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको छ । आगामी केही दिनभित्र सरकार गठनको विषय टुंगिने उनको दाबी छ ।
‘केन्द्रबाटै तीनै दलका अध्यक्ष बसेर विषय टुंग्याउने सहमति भएको छ । अबको केही दिनमा यसबारे निर्णय हुन्छ,’ उनले भने, ‘प्रदेशसभामा आफ्नो दल सबैभन्दा ठुलो भएकाले नयाँ सरकारको नेतृत्व जसपाले नै गर्छ ।’ उनका अनुसार वर्तमान सरकार २९ गतेसम्म कायम रहने र त्यसअघि नै तीन दलका अध्यक्षबिच छलफल गरेर सरकार गठनबारे सहमति जुटाउने प्रयास हुनेछ । ‘हाम्रा राष्ट्रिय अध्यक्ष अहिले विराटनगर जानुभएको छ । उहाँ काठमाडौँ फर्किएलगत्तै सरकार गठनका विषयमा सहमति जुटाउने प्रयास हुन्छ,’ उनले भने ।
एमाले बाहिरिएपछि सरकार अल्पमतमा
गत असोज ३० गते नेकपा एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । यद्यपि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
सिट संख्याका आधारमा एमाले, जसपा र जनमत पार्टीबिच सहमति भए उनीहरूको कुल संख्या ६२ पुग्छ । यो संख्या सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हुन जान्छ तर, तीन दलबिच सरकार गठनको औपचारिक सहमति र नेतृत्वको टुंगो लाग्ने बाँकी नै छ ।