पर्सा । वीरगञ्ज वीरगञ्जमा सांस्कृतिक कार्यक्रमका नाममा भोजपुरी भाषा र संस्कृतिसँग जोडेर अश्लील गतिविधि प्रस्तुत गरिएको भन्दै भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षणमा सक्रिय विभिन्न संघ–संस्थाका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले यस्ता गतिविधि तत्काल रोक्न तथा भोजपुरी भाषाको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्न सम्बन्धित निकायसँग माग गरेका छन्। भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि सक्रिय छ वटा संस्थाका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै सांस्कृतिक कार्यक्रमका नाममा प्रस्तुत भइरहेका अश्लील गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्रमा भोजपुरी भाषा समृद्ध साहित्य, उत्कृष्ट गीत–संगीत, लोककला तथा विविध सांस्कृतिक परम्पराले सम्पन्न भाषा भएको उल्लेख गरिएको छ। भोजपुरी भाषाको आफ्नै मौलिक पहिचान, ऐतिहासिक पृष्ठभूमि र समृद्ध सांस्कृतिक विरासत रहेको जनाउँदै यसलाई अश्लील गतिविधिसँग जोडेर प्रस्तुत गर्नु दुःखद भएको संस्थाहरूको ठहर छ। भोजपुरी संस्कृतिमा निर्गुण, सामा, कजरी, चैतावरलगायत परम्परागत तथा मौसमी गीतहरूको विशिष्ट स्थान रहेको ज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै, संस्कार गीत, लोकनृत्य तथा सोल्टी–बिजांभार, सतीबिहुला र आल्हा–उदलजस्ता लोकनाट्य परम्पराले भोजपुरी भाषा र संस्कृतिलाई समृद्ध बनाएको जनाइएको छ। यस्तो गौरवशाली सांस्कृतिक विरासत बोकेको भाषालाई अश्लीलताको माध्यमका रूपमा प्रस्तुत गर्नु भाषा, साहित्य, कला र संस्कृतिमाथिको प्रहार भएको संस्थाहरूले बताएका छन्।
सांस्कृतिक कार्यक्रमको मूल उद्देश्य समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु, मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्नु तथा नयाँ पुस्तालाई आफ्नो परम्परासँग जोड्नु हुनुपर्ने उनीहरूको धारणा छ। वीरगञ्जमा पछिल्लो समय विभिन्न कार्यक्रमलाई सांस्कृतिक कार्यक्रमको नाम दिएर भोजपुरी भाषासँग जोड्दै अश्लील गतिविधि प्रस्तुत गरिने गरेको भन्दै संस्थाहरूले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यस्ता गतिविधिले भोजपुरी भाषाको वास्तविक पहिचान र गरिमामाथि नकारात्मक प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ। ज्ञापनपत्रमार्फत संस्थाहरूले भोजपुरी भाषाको नाममा हुने अश्लील गतिविधि नियन्त्रण गर्न, सांस्कृतिक कार्यक्रमको मर्यादा कायम राख्न तथा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा स्थानीय प्रशासनले आवश्यक पहल गर्न माग गरेका छन्। भोजपुरी भाषा कुनै क्षेत्र वा समुदायको मात्र नभई समृद्ध लोकपरम्परा, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको भाषा भएकाले
यसको सम्मान र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने ज्ञापनपत्रमा जोड दिइएको छ। संस्थाहरूले भोजपुरी भाषाको मौलिकता जोगाउँदै मर्यादित, सभ्य र संस्कृतिमैत्री कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, सांस्कृतिक कार्यक्रमको नाममा भाषाको गलत चित्रण हुन नदिन आयोजक, कलाकार, सम्बन्धित निकाय तथा स्थानीय प्रशासनबीच समन्वय आवश्यक रहेको बताएका छन्।