काठमाडौं । सिराहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहु तेली र उपमेयर रेशमकुमारी थापाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिकाको डेढ करोडभन्दा बढी रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सातजनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा वडा नं. ६ र ७ स्थित पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विनाप्रतिस्पर्धा अमानतमा प्रदान गरेको र राजस्व हिनामिना गरेको अख्तियारको दाबी छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू श्रीधर केसी र अनन्तकुमार पौडयाल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवलाई समेत प्रतिवादी बनाइएको छ।
उनीहरूले २७ लाख ३४ हजार ९१३ रुपैयाँ नियमविपरीत राजस्व छुट दिएको र एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ असुल नगरेको रकम गरेर कुल एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ।