ढल्केबर । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका युवा किसान रोशन सिंहलाई सिँचाइ अभावमा खेत बाँझो राख्नुपर्ने समस्या हटेको छ । नगरपालिकाले हालै मात्र सिँचाइका लागि खेतनजिकै नयाँ डिप ट्युबेल गाडेपछि उहाँलाई आकासे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता हटेको हो ।
विगतमा आकासे पानीका भरमा खेती गर्दै आएको बताउने सिंहले अब डिप ट्युबेलबाट सिँचाइ सुविधा पुगेपछि वर्षभरि खेतीका लागि चाहिने पानीको समस्या हटेको बताउनुभयो । उहाँका अनुसार मिथिला नगरपालिकाका दक्षिणी क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित क्षेत्र हो । यहाँका किसानलाई आकासे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता थियो । त्यसैले वर्षभरि उत्पादन लिन सकिँदैनथ्यो तर अब सिँचाइको वैकल्पिक स्रोत उपलब्ध भएपछि वर्षामा मात्र होइन, सुक्खा समयमा पनि उत्पादन गर्न सकिने सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा खेतीका लागि आकासे पानीको भर पर्नुपर्ने बाध्यता थियो तर अब डिप ट्युबेल सञ्चालनमा आएपछि यो वर्षदेखि खेत सिँचाइ गर्न सहज हुन्छ ।”
नगरप्रमुख महेन्द्र महताले सिँचाइ क्षेत्र विस्तार गर्ने योजना अन्तर्गत डिप ट्युबेल गाड्ने काम गरिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा पालिकाका विभिन्न स्थानमा गरी ३० वटा डिप ट्युबेल गाड्ने योजना अघि बढाएको छ । उहाँले भन्नुभयो, “सिँचाइ क्षेत्र विस्तार गर्न यो पहल थालिएको हो । अहिलेसम्म करिब १० वटा गाडिसकिएको छ, बाँकी असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।” योजना अनुसार सबै ट्युबेल गाडिसकेपछि चार सय बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार यसअघि यहाँका किसानले सिँचाइका लागि इनारबाट काम चलाइरहेका थिए तर इनार खन्दा पनि ५०–६० हातसम्म खन्नुपर्ने र त्यसपछि पनि पानी नआउने समस्या थियो । इनार पनि सुक्खा समयमा सुक्ने गर्दथ्यो । यही समस्यालाई समाधान गर्न मिथिला नगरपालिकाले इनारको बजेट हटाएर डिप ट्युबेलमा प्राथमिकता दिएको नगरप्रमुख महतोको भनाइ छ ।
नगरप्रमुख महतोले नगरपालिकाको योजनाबाहेक मधेश प्रदेश सरकारको सहयोग १० वटा डिप ट्युबेल गाड्ने काम भइरहेको छ त्यसबाट पनि करिब एक सय बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने जानकारी दिनुभयो । त्यस्तै कमला सिँचाइ परियोजनामार्फत मिथिला नगरपालिका–४, पुष्पवलपुरमा एक करोडको लागतमा सिँचाइ योजनाको काम भइरहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख महतोले सिँचाइ सुविधा विस्तार गरेर किसानको जीवनस्तर उकास्ने काम गरिरहेको स्थानीय पशुपति महतोको भनाइ छ । डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई वर्षभरि कृषि उत्पादन गर्न सहज हुने उहाँले बताउनुभयो । उहाँका अनसार बाली उत्पादनमा समेत विगतको तुलनामा वृद्धि हुने छ ।
उहाँले भन्नुभयो, “विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो । अब सिँचाइको सुविधा भएपछि किसानले चाहेका बेला सिँचाइ गर्न पाउँछन् ।”