भारत र अमेरिकाका अन्तरिक्ष एजेन्सीहरूले एउटा नयाँ उपग्रह प्रक्षेपण गरेका छन्। यसले जमिन, समुद्र र बरफको तहमा हुने साना परिवर्तनलाई पनि कैद गर्न र रिपोर्ट गर्न पृथ्वीमा बाज जस्तै नजर राख्ने उल्लेख छ।
भारतीय अन्तरिक्ष एजेन्सी इसरो र नासाको संयुक्त अभियानबाट प्राप्त तथ्याङ्कले यी दुई देशलाई मात्र नभई सम्पूर्ण विश्वलाई प्रकोपको तयारी र सामना गर्न मद्दत गर्नेछ।
सन् १९६९ मा भारतले आफ्नो अन्तरिक्ष एजेन्सी गठन गरेको थियो। यसको नाम भारतीय अन्तरिक्ष अनुसन्धान संगठन राख्यो। यसलाई छोटो रूपमा इसरो भनिन्छ।
यसको उद्देश्य अन्तरिक्ष प्रविधिमा भारतका लागि काम गर्नु थियो। इसरोले आफ्नो नामअनुसार काम गर्यो र भारत इसरो मार्फत चन्द्रमामा पुग्यो।
अर्कोतर्फ यसभन्दा ११ वर्ष अगाडि अर्थात् १९५८ को कुरा गरौँ। अमेरिकामा एउटा अन्तरिक्ष एजेन्सी गठन भएको थियो। यसको नाम नेशनल एयरोनॉटिक्स एंड स्पेस एडमिनिस्ट्रेशन अर्थात् नासा हो।
यसको काम अन्तरिक्ष र विज्ञानको क्षेत्रमा अमेरिकाका लागि काम गर्नु पनि थियो। नासाले ५० वर्षभन्दा बढी समय अघि चन्द्रमामा मानिसलाई अवतरण गरिसकेको छ। अन्तरिक्ष विज्ञानसँग सम्बन्धित धेरै ठुला प्रयोग निरन्तर गरिरहेको छ।
अर्थात्, आ–आफ्नो देशका यी दुई विशाल अन्तरिक्ष एजेन्सीले एकसाथ काम गरिरहेका छन्। यदि यीनीहरू एकसाथ आए भने के गर्न सक्छन् भन्ने कल्पना गर्नुहोस्। वास्तविकतामा पनि यस्तै केही हुन गइरहेको छ। नासा र इसरो मिलेर
काम गरिरहेको मिसनको नाम निसार अर्थात् नासा इसरो सिंथेटिक एपर्चर राडार मिसन राखिएको छ।
नासासँग पहिले नै अन्तरिक्षमा दुई दर्जनभन्दा बढी अवलोकन उपग्रह छन्। यसले निसार अहिलेसम्म निर्मित सबैभन्दा उन्नत राडार रहेको र विश्वको कुनै पनि ठाउँमा हुने सबैभन्दा सानो परिवर्तन समात्न सक्षम हुने बताएको छ।
के हो निसार मिसन ?

यसलाई संसारकै सबैभन्दा महँगो अन्तरिक्ष अभियान मध्ये एक भनिएको छ। त्यसो भए यो निसार अभियान वास्तवमा के हो र यसमा के काम गरिनेछ ?
निसार आफ्नो किसिमको पहिलो मिसन हो। यो नासा र इसरोले संयुक्त रूपमा विकसित गरेको छ।
२,३९२ किलोग्राम तौल भएको यो उपग्रह बुधबार भारतीय समय अनुसार साँझ ५ः४० बजे भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।
निसार मिसन एक्सिअम–४ मिसनको लगत्तै प्रक्षेपण गरिँदैछ। यसमा पहिलो पटक भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गएका थिए।
इसरोका अध्यक्ष डा. वी. नारायणनले निसार मिसनको जीएसएलवी–एस१६ रकेट मार्फत प्रक्षेपण गरिएको बताएका छन्।
यो उपग्रहले सम्पूर्ण पृथ्वीको नक्सा बनाउने छ। प्रत्येक १२ दिनमा दुई पटक पृथ्वीमा हुने भौगोलिक परिवर्तनलाई निरन्तर रेकर्ड गर्नेछ।
यसमा पृथ्वीको सतहमा रहेको बरफ, जमिनका भाग, पारिस्थितिक प्रणालीमा परिवर्तन, समुद्री सतह र भूमिगत पानीको सतहमा परिवर्तनसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने उल्लेख छ।
यो एक तल्लो पृथ्वी कक्ष उपग्रह हो र पृथ्वीबाट ७४७ किलोमिटरको उचाइमा स्थापित हुनेछ।
यो दोहोरो राडार भएको पहिलो पृथ्वी–अवलोकन उपग्रह हो। यसको अर्थ दुई फरक राडार प्रयोग गरेर पृथ्वीको अवलोकन गर्ने हो।
यसमा एल–ब्यान्ड र एस–ब्यान्ड फ्रिक्वेन्सी भएका दुई राडार छन्। फरक–फरक फ्रिक्वेन्सी भएका यी राडार मार्फत पृथ्वीको चाल अवलोकन गरिनेछ र पृथ्वीको उच्च–रिजोल्युसन तस्बिर पनि खिचिनेछ।
यसमा रहेको एल–ब्यान्ड राडार नासाले विकास गरेको हो भने एस–ब्यान्ड राडार इसरोले विकास गरेको हो।
नासाका पूर्ववैज्ञानिक मिला मित्राले बीबीसी संवाददाता गीता पाण्डेसँग उपग्रहलाई ‘सूर्य–समकालिक ध्रुवीय कक्षा’मा पठाइने बताए। यसको अर्थ नियमित अन्तरालमा पृथ्वीको एउटै भागमाथिबाट गुज्रनेछ। यसले गर्दा सतहमा हुने परिवर्तन अवलोकन गर्न र नक्सा बनाउन सक्नेछ।
निसार मिसनको अरु कुनै उद्देश्य छ ?

निसार मिसनको आधारभूत उद्देश्य पृथ्वीमा भइरहेका महत्त्वपूर्ण परिवर्तनको अनुसन्धान गर्नु हो।
यस मिसन मार्फत भूकम्प, सुनामी, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपको पनि अध्ययन गरिनेछ। यसका साथै यसले पारिस्थितिक प्रणाली, पृथ्वीको सतहमा हुने परिवर्तन र बढ्दो समुद्री सतहलाई बुझ्न मद्दत गर्नेछ।
निसारले बाथिमेट्रिक सर्वेक्षण पनि गर्नेछ। यसको अर्थ पानीमुनिको सतहको गहिराइको अध्ययन गर्नु हो। यसले हिमनदी पग्लने, समुद्री सतह बढ्दै जानुका साथै पृथ्वीको सतहमा जलवायु परिवर्तनको प्रभाव बुझ्न मद्दत गर्ने भएकाले यो सर्वेक्षण महत्त्वपूर्ण छ।
‘यी परिवर्तनमध्ये केही क्रमिक छन्, केही अचानक छन्, केही साना छन्, केही अत्यन्तै सूक्ष्म छन्,’ प्रक्षेपण अघि भारतमा रहेका नासाका पृथ्वी विज्ञान निर्देशक करेन सेन्ट जर्मेनले प्रक्षेपणपूर्व पत्रकार सम्मेलनमा भने,‘हामी भूकम्प, पहिरो र ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपको प्रभाव पहिले नै पत्ता लगाउन निसार प्रयोग गर्न सक्षम हुनेछौं। जमिनको भास र अशान्ति, ग्रीनल्याण्ड र अन्टार्कटिकामा हिमनदी र बरफको पाता पग्लने र वन डढेलो अवलोकन गर्न सक्ने छौँ।’
उनले थप भने, ‘हामी कृषि र भवन र पुल जस्ता संरचनाको निर्माणका कारणले जमिनमा हुने परिवर्तन पनि पत्ता लगाउन सक्षम हुनेछौं।’
यो उपग्रह पूर्ण रूपमा तैनाथ हुन ९० दिन लाग्नेछ र सबै प्रणालीको परीक्षण पूरा भएपछि यसले तथ्याङ्क सङ्कलन गर्न थाल्नेछ।
निसारले अमेरिका र भारतलाई मात्र जानकारी प्रदान गर्दैन। तर विश्वभर अनुसन्धानमा संलग्न व्यक्तिले यसको माध्यमबाट पृथ्वीको सतहमा हुने साना परिवर्तनबारे पनि जानकारी प्राप्त गर्न सक्षम हुनेछन्।
नासाले निसार उपग्रहले दिन होस् वा रात सबै मौसमी अवस्थामा काम गर्न सक्ने जनाएको छ।
एसएआर भनेको के हो ?

सबै मौसमी अवस्थामा काम गर्ने जादू एसएआर अर्थात् सिंथेटिक एपर्चर राडार मार्फत प्राप्त गरिन्छ। पहिले अप्टिकल उपग्रह पृथ्वीको निगरानी गर्न सूर्यको प्रकाशमा निर्भर थिए।
तर एसएआरले उपग्रहबाट माइक्रोवेभ संकेत प्रयोग गरेर आफ्नै प्रकाश सिर्जना गर्छ र कुनै पनि समय तथा मौसममा पृथ्वीलाई हेर्न सक्छ।
खैर, निसार मिसनमा १० वर्षभन्दा बढी समयदेखि काम भइरहेको छ।
इसरो र नासाले ३० सेप्टेम्बर २०१४ मा एक सम्झौतामा हस्ताक्षर गरे। यसपछि यो मिसन २०२४ को सुरुमा प्रक्षेपण गरिने थियो। तर उपग्रह बनाउन कठिनाइका कारण यो हुन सकेन।
नासाको सेन्ट जर्मेनले यो उपग्रह विशेष भएको बताए। यो कोभिड–१९ महामारीको समयमा विश्वका दुई फरक छेउका वैज्ञानिकले निर्माण गरेका थिए।
डिसेम्बर २०२४ मा सरकारले नासाका विज्ञहरूले १२–मिटर राडार एन्टेना रिफ्लेक्टरमा केही सुधार आवश्यक रहेको र यसका लागि अमेरिका लैजानुपर्ने निर्णय गरेको थियो।
सोही विज्ञप्तिमा यो एन्टेना अक्टोबरमा नासामा पठाइएको भनिएको छ। त्यसपछि यससँग सम्बन्धित परीक्षण सुरु गरिएको थियो।
यस उपग्रहको केही भाग अमेरिकामा तयार पारिएको छ र त्यहाँबाट भारत पठाइएको छ।
भारत र अमेरिकाले मिलेर यस मिसनमा कुल १.५ अर्ब डलर खर्च गरेका छन्। यसले गर्दा यो अहिलेसम्मकै सबैभन्दा महँगो पृथ्वी अवलोकन उपग्रह बनेको छ।