जनकपुर । मधेश प्रदेशका महिला, खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रञ्जित कुमार यादवले प्रदेशमा छ वटा मन्त्रालयमार्फत सीप विकासको कार्यक्रम सञ्चालन हुने गरी बजेट छुट्याइएको बताएका छन्।
मधेशका महिलाहरूलाई आय आर्जन गर्नको लागि विभिन्न सीपमूलक तालिम मधेश प्रदेश सरकारबाट दिइँदै आएकोमा महिला उद्यमी महासंघ नेपालको सक्रिय समन्वय र सहयोगमा अब अझ प्रभावकारी रूपमा जोड दिइने सचिव यादवको भनाइ छ।
जनकपुरस्थित श्रम मन्त्रालयको सभा हलमा महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रमुख अतिथि यादवले महिलाको सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन गर्न प्रदेश सरकार थप सक्रिय हुने बताए।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले मधेश प्रदेशमा महिला उद्यमको क्षेत्रमा पहिलेको तुलनामा केही शिथिलता आएको बताउँदै प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने बताइन्। सरकार र मन्त्रालय छन् भने महिला उद्यमशीलताको क्षेत्रमा निरन्तर काम गर्नुपर्ने सुझाव अध्यक्ष ज्ञवालीले दिएकी छन्।
सो अवसरमा अध्यक्ष ज्ञवालीले देशमा ७७ जिल्लाका ६ हजारभन्दा बढी महिला उद्यमीहरू संगठित भइसकेको बताउँदै महासंघले निकै सक्रियतापूर्वक काम गरिरहेको बताइन्। उद्यमी, उत्पादन र बजारसम्म मध्यस्थकर्ताको काम गरेर उद्यम तथा व्यवसायलाई सहज बनाइरहेको अध्यक्ष ज्ञवालीको भनाइ रहेको थियो।
उनले उद्यमको क्षेत्रमा सक्रिय रहेका महिलाहरूको उत्पादनको प्रवर्द्धन गर्न वर्षको एक पटक अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको काम गरिरहेको बताउँदै निकै सकारात्मक परिणाम आइरहेको बताइन्। अध्यक्ष ज्ञवालीले महासंघले शुक्रबार भएको कार्यक्रममा महिला उद्यमीका हरेक समस्या समाधानको लागि सहकार्य गरिरहेको पनि उल्लेख गरिन।
कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको मधेश प्रदेश अध्यक्ष सविना पौडेल, जनकपुर शाखाकी अध्यक्ष दिपिका उपाध्याय, कार्यक्रम संयोजक भूपेन्द्र लम्सालसहित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।