वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे अगुवाइमा पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साकाे परिसरमा धर्नासहितकाे प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत भएको प्रदर्शनमा पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।पर्साका पत्रकारहरुले पत्रकार महासंघले घोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै सरकारको व्यवहारप्रति विरोध जनाउन प्रदर्शन गरेका हुन्।
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले केन्द्रले अघि सारेका माग तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको बताए ।
पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ताले मिडियाप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पत्रकारिता क्षेत्रको स्वतन्त्रता,पेसागत सुरक्षा तथा सञ्चारकर्मीहरूको अधिकारको पक्षमा पत्रकार महासंघले निरन्तर आवाज उठाउँदै आएको बताए। उनले सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सुरु गरिएको आन्दोलनलाई सशक्त बनाउन पर्साका पत्रकारहरू एकजुट भएर प्रदर्शनमा सहभागी भएकाे बताए।