पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर पदका आकांक्षी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले आफ्नो गाउँघर भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ। यसै क्रममा उहाँले वीरगन्ज महानगरपालिका वडा नं. १८, सौराहा टोलका स्थानीय बासिन्दाहरूलाई भेटघाट गर्दै जनसम्पर्क अभियानलाई अगाडि बढाउनुभएको हो।
भेटघाट कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूमाझ आफ्नो धारणा राख्दै उम्मेदवार पटेलले वीरगन्जको मुहार फेर्न अब परम्परागत राजनीतिक सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो।
"वीरगन्ज केवल एउटा सहर मात्र होइन, यो देशको आर्थिक नगरी हो। तर विडम्बना, यहाँका नागरिकहरूले दशकौँदेखि आधारभूत सेवा, सुशासन र विकासका लागि भौंतारिनुपर्ने बाध्यता छ। हामीले अब राजनीतिलाई पेसा होइन, सेवाको माध्यम बनाउनुपर्छ। नगरवासीको हरेक समस्यालाई आफ्नै समस्या ठानेर पारदर्शी, भ्रष्टाचारमुक्त र जनमुखी सेवा प्रवाह गर्नु हाम्रो मुख्य दायित्व हो।"
"विकास भनेको केवल कागजी योजना र भाषणमा सीमित हुनु हुँदैन; यसको अनुभूति टोल-टोल र बस्ती-बस्तीमा बस्ने सर्वसाधारणले महसुस गर्न सक्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राखेर हामी वीरगन्जलाई एक समृद्ध, नमुना र सुशासित महानगर बनाउन कटिबद्ध छौं। जनताको साथ, सहयोग र सहभागिता नै हाम्रो मुख्य सामर्थ्य हो।"
सौराहा टोलका स्थानीय बासिन्दाहरूले उम्मेदवार पटेलको स्पष्ट विचार, ऊर्जावान नेतृत्व र सुशासनप्रतिको प्रतिबद्धताको स्वागत गरेका छन्। भेटघाट कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।