पर्सा । आर्थिक अभाव सफलताको बाधक बन्न सक्दैन भन्ने गतिलो उदाहरण पर्साको एक किसान परिवारले प्रस्तुत गरेको छ । पकहाँमैनपुर गाउँपालिका–१ धोरेका सामान्य किसान परिवारका तीनै दाजुबहिनीले निरन्तरको मेहनत र दृढ सङ्कल्पका बलमा निजामती सेवामा प्रवेश गरेर जिल्लामै गौरवको इतिहास रचेका छन् ।
सीमित स्रोतसाधन र किसानी पृष्ठभूमिबाट माथि उठ्दै सोनु कुमार सोनी, उनकी जेठी बहिनी सङ्गीता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनीले एकपछि अर्को गर्दै सरकारी सेवामा सफलता हासिल गरेका हुन्।
परिवारका जेठा छोरा सोनु कुमार वर्तमानमा पर्साको धोबिनी गाउँपालिकामा लेखापाल पदमा सेवा पुर्याइरहेका छन्। उनैको प्रेरणा र पारिवारिक हौसलाका कारण उनीहरूका दुवै बहिनीले पनि सरकारी सेवामा भविष्य सुरक्षित गरेका हुन्। जेठी बहिनी सङ्गीताले सहलेखापाल पदबाट आफ्नो प्रशासनिक यात्रा सुरु गरेकी थिइन् भने, हालै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्दै कान्छी बहिनी रबिताले पनि खरिदार पदमा नाम निकाल्न सफल भइन् । यससँगै एउटै घरका तीनै जना दाजुबहिनी निजामती सेवाको अङ्ग बन्न सफल भएका छन्।
खेतीकिसानीको आम्दानीले मुस्किलले परिवारको गुजारा चलाउँदै आएका अभिभावकका सन्तानले यस्तो प्रतिस्पर्धात्मक सफलता प्राप्त गरेपछि यतिबेला धोरे गाउँमा चौतर्फी खुसीयाली छाएको छ। गाउँलेले यस उपलब्धिप्रति गर्व महसुस गरेका छन्।
अभाव र विसङ्गतिका बीच पनि निरन्तर अध्ययन, परिश्रम र स्पष्ट लक्ष्यसहित अगाडि बढ्दा असम्भव केही छैन भन्ने सन्देश यो परिवारले ग्रामीण भेगका युवायुवतीहरूलाई दिएको छ। उनीहरूको यो प्रेरणादायी सफलताले अन्य विद्यार्थीहरूलाई समेत कडा मेहनत गर्न ठुलो ऊर्जा प्रदान गरेको स्थानीयको भनाइ छ।