वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारत सरकारले नेपाललाई घोषणा गरेको आर्थिक सहयोगलाई लिएर नेकपा एमालेका नेता महमद निजामुदिन (निजाम) ले प्रश्न उठाएका छन् । उनले आर्थिक सहयोगका नाममा नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग सम्झौता गरिएको हो कि भन्दै प्रधानमन्त्री शाहप्रति प्रश्न तेर्स्याएका छन् ।
नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य निजामुदिनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै २ खर्ब ४० अर्ब रुपैयाँको सहयोगसँगै लिपुलेक, कालापानी र सीमा विवादका विषयमा नेपाल मौन बस्नुपर्ने कुनै सर्त राखिएको हो भने त्यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन् ।
उनले राष्ट्रिय स्वाभिमानभन्दा विदेशी सहयोगलाई ठूलो मान्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै यस्तो अवस्थालाई कस्तो राष्ट्रवाद भन्ने भन्दै प्रधानमन्त्री शाहको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिमाथि टिप्पणी गरेका छन् ।
निजामुदिनले भदौ २३ र २४ गते भएको आन्दोलनमा विदेशी फन्डिङ भएको विषयसमेत उठाएका छन् । उक्त आन्दोलनमा विदेशी आर्थिक सहयोग भएको दाबी गर्दै उनले त्यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । आन्दोलनमा भएको भनिएको आर्थिक सहयोगको जवाफ र हिसाब जनताले खोज्ने उनको भनाइ छ ।
उनले नेकपा एमालेले राष्ट्रवादलाई भाषण र नारामा मात्र सीमित नराखेको दाबी गर्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा पद, पैसा र शक्तिसँग सम्झौता नगर्ने बताएका छन् ।
'लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भूमि हो । आफ्नो माटोको पक्षमा हाम्रो अडान न बिक्छ, न झुक्छ, न बदलिन्छ,' निजामुदिनले भनेका छन् ।
सत्ता र सरकार परिवर्तन भए पनि नेपालको राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकतामाथिको अडान परिवर्तन हुन नहुने उनको भनाइ छ ।