वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनसम्बन्धी ठेक्का सकार गरेको सुमित एन्ड अमित कन्स्ट्रक्शनले ठेक्का प्रक्रियामाथि प्रश्न उठाउँदै ठेक्का रद्द गर्न निवेदन दिएपछि प्रकरण थप विवादित बनेको छ। करोडौँ रुपैयाँको ठेक्का सकार गरिसकेपछि आफ्ना कागजात चोरी गरी ठेक्का सकार गरिएको भन्दै कम्पनीले निवेदन दिनुले ठेक्का प्रक्रियामाथि मात्र होइन, कम्पनीको नियत र जिम्मेवारीमाथि समेत प्रश्न उठाएको छ।
वीरगञ्ज महानगरपालिकाले सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनका लागि ३ करोड ७० लाख ८७ हजार ७ सय १० रुपैयाँ न्यूनतम रकम राखेर ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्का सुमित एन्ड अमित कन्स्ट्रक्शनले ६ करोड ६६ लाख ६६ हजार ८१ रुपैयाँमा सकार गरेको विवरण प्राप्त भएको छ। न्यूनतम आह्वान रकमभन्दा झन्डै २ करोड ९५ लाख रुपैयाँ बढीमा ठेक्का सकार गरेको कम्पनीले पछि ठेक्का प्रक्रियामाथि प्रश्न उठाउँदै रद्द गर्न निवेदन दिएको घटनाले थप शङ्का उत्पन्न गरेको हो।
महानगरपालिकाले ठेक्का सकार गरिसकेपछि मिति २०८३/०६/२३ गते ठेक्का सम्झौता गर्न उपस्थित हुन सूचना जारी गरेको थियो। तर, त्यसको केही दिनपछि २०८३/०६/२६ गते सुमित एन्ड अमित कन्स्ट्रक्शनले आफ्नो कागजात चोरी गरी ठेक्का सकार गरिएको दाबी गर्दै ठेक्का रद्द गर्न महानगरपालिकामा निवेदन दिएको बताइएको छ।
ठेक्का प्रक्रियामा सहभागी भएर ६ करोड ६६ लाख ६६ हजार ८१ रुपैयाँमा ठेक्का सकार गरिसकेको कम्पनीले सम्झौताको सूचना जारी भएपछि कागजात चोरी भएको भन्दै ठेक्का रद्दको माग गर्नुले घटनाको समयक्रममाथि प्रश्न उठाएको छ। ठेक्का सकार गर्ने चरणमा कम्पनीको तर्फबाट पेश भएका कागजात, बोलपत्रको प्रक्रिया तथा ठेक्का सकार गर्ने अधिकारसम्बन्धी विषयमा निष्पक्ष छानबीन आवश्यक देखिन्छ।
प्राप्त विवरण तथा घटनाक्रमको विश्लेषण गर्दा, ठेक्का सकार गर्दा गरिएको आर्थिक अनुमान र पछि सवारी शुल्क सङ्कलनको वास्तविक सम्भावनाबीच अन्तर देखिएपछि कम्पनीले ठेक्का रद्द गराउन खोजेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि कम्पनीले निवेदनमा उल्लेख गरेको कागजात चोरीको आरोप र त्यसको वास्तविकता छानबीनबाट पुष्टि हुनुपर्ने विषय हो।
महानगरपालिकाको ठेक्का प्रक्रिया तथा प्रचलित व्यवस्थाअनुसार ठेक्का सकार गरिसकेपछि सम्झौता नगर्ने वा जिम्मेवारीबाट पछि हट्ने अवस्थामा बोलपत्रसँग सम्बन्धित धरौटी रकम जफत हुन सक्ने व्यवस्था छ। यस ठेक्कासँग जोडिएको ४० लाख रुपैयाँ धरौटी रकमसमेत जफत हुने जोखिम रहेको बताइएको छ।
यदि कम्पनीले ठेक्का सकार गर्दा स्वीकार गरेको रकम र त्यसबाट हुने सम्भावित आम्दानीको हिसाबमा घाटा देखेपछि ठेक्का रद्द गराउन खोजेको हो भने कागजात चोरीको आरोपलाई ढाल बनाएर जिम्मेवारीबाट पन्छिन खोजिएको हो कि भन्ने प्रश्नसमेत उठ्न सक्छ।
आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले आह्वान गरेको ठेक्कामा कम्पनीले ठूलो रकम प्रस्ताव गरी ठेक्का सकार गर्ने, सम्झौताको सूचना प्राप्त भएपछि कागजात चोरीको आरोप लगाउँदै ठेक्का रद्दको निवेदन दिने घटनाक्रमले सार्वजनिक ठेक्का प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।
अब महानगरपालिकाले सुमित एन्ड अमित कन्स्ट्रक्शनले पेश गरेको निवेदन, ठेक्का सकार गर्दाका कागजात, बैंक ग्यारेन्टी, धरौटी तथा बोलपत्र प्रक्रियाको निष्पक्ष छानबीन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ। करोडौँ रुपैयाँको सार्वजनिक राजस्वसँग जोडिएको ठेक्कामा आरोप र प्रत्यारोपभन्दा तथ्य, प्रमाण र कानुनी प्रक्रियाबाट निर्णय हुनु आवश्यक छ।