वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट र नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्ने क्रममा रकम असुली भएको आरोप सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे छानबिन अघि बढाएको छ। घटनासँग सम्बन्धित प्रहरी चौकी टिहुकीका असई भोला चौधरीलाई शनिबार दिउँसो करिब ४ बजे जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।
प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र यादवमाथि भारतीय नागरिकहरूको समूहले ड्युटीकै क्रममा कुटपिट तथा लछारपछार गरेको र उनको मोबाइलसमेत फुटाइदिएको घटना विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि जिल्ला प्रहरीले चासो देखाएको हो। घटनाबारे सोधपुछ तथा आवश्यक जानकारी लिन असई चौधरीलाई जिल्ला बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरी चौकी टिहुकीमा कार्यरत वरिष्ठ हवल्दार यादवमाथि शुक्रबार राति भारतीय नागरिकहरूको समूहले आक्रमण गरेको बताइएको छ। प्रहरी चौकी टिहुकीका असई चौधरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे टिहुकीस्थित गुडु नामक व्यक्तिको मदिरा पसलमा आएका चार जना भारतीय नागरिकले मदिरा सेवन गरेपछि आपसमा विवाद गरेका थिए। पसल सञ्चालकले प्रहरी चौकीमा खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि उनीहरू मोटरसाइकल छाडेर फरार भएका थिए।
त्यसपछि राति करिब साढे ८ बजे मदिरा सेवन गरी झगडा गरेका व्यक्तिहरू १४–१५ जनाको समूह बनाएर पुनः पसलमा आएर सञ्चालकसँग विवाद गर्न थालेपछि प्रहरी टोली दोस्रोपटक घटनास्थल पुगेको चौधरीले बताएका छन्।
विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा लाठीचार्ज गर्नुपरेको र त्यसक्रममा समूहका व्यक्तिहरूले प्रहरीको लाठी खोसेर वरिष्ठ हवल्दार यादवमाथि कुटपिट तथा लछारपछार गरेको चौधरीको भनाइ छ। घटनास्थलमा प्रहरीका दुई जना मात्रै रहेको र अर्को पक्षको समूह ठूलो भएकाले प्रहरीमाथि हातपात भएको उनले दाबी गरेका छन्।
कुटपिटबाट वरिष्ठ हवल्दार यादवको हातमा चोट लागेको तथा मोबाइलसमेत फुटेको बताइएको छ। तर, बाहिरबाट स्पष्ट देखिने गरी चोटपटक नरहेको असई चौधरीले बताएका छन्।
घटनापछि प्रहरीले चारवटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखेको थियो। नियन्त्रणमा लिइएका मोटरसाइकलमा रातो–कालो अपाचे (BR22 BK6754), कालो बुलेट (BR01 HL4681), सेतो अपाचे (BR05 4782) र रातो होन्डा साइन एसपी (BR22 AW3620) रहेका थिए।
तर, नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्ने क्रममा २० हजार भारतीय रुपैयाँ अर्थात् करिब ३२ हजार नेपाली रुपैयाँ असुलिएको गम्भीर आरोपसमेत सार्वजनिक भएको छ। प्रहरीमाथि आक्रमण भएको र मोबाइल फुटेको घटनालाई लिएर मुद्दा चलाउने तथा मोटरसाइकल भन्सार पठाइदिने भन्दै डर देखाएर रकम लिइएको आरोप लागेको हो।
यस विषयमा प्रतिक्रिया दिँदै असई चौधरीले गाउँघरको अवस्थालाई ध्यानमा राखेर मोटरसाइकलका कागजात जाँच गरी छाडिएको दाबी गरेका थिए। आफूले कुनै रकम नलिएको बताउँदै उनले अरू कसैले आफ्नो नाममा रकम लिएको भए त्यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए।
एकातिर ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि समूहगत आक्रमण भएको घटना छ भने अर्कोतिर प्रहरी नियन्त्रणमा रहेका सवारीसाधन छाड्दा रकम असुली भएको आरोपले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ। असई चौधरीलाई जिल्ला बोलाएर सोधपुछ सुरु गरिनुलाई प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको संकेतका रूपमा हेरिएको छ।
अब जिल्ला प्रहरी कार्यालय पर्साको छानबिनबाट प्रहरीमाथि भएको आक्रमणको वास्तविकता, नियन्त्रणमा लिइएका मोटरसाइकल कसरी र कुन प्रक्रियाबाट छाडिए तथा २० हजार भारतीय रुपैयाँ असुली भएको आरोपमा कसको संलग्नता छ भन्ने विषय स्पष्ट हुनुपर्ने देखिन्छ। आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउनुका साथै घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।