जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्री पदमा कसैको दाबी पेस हुन सकेको छैन ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रवार अपराह्न ४ बजे सकिएको हो । तर निर्धारित अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेस गरेनन् ।
समयसीमा सकिएपछि नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले प्रदेश प्रमुख कर्णसँग भेट गरी सरकार गठनका लागि थप समय माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सात दिनको समयमध्ये चाडपर्व र एमालेको महाधिवेशनका कारण राजनीतिक छलफलका लागि पर्याप्त समय नपुगेको बताए । तीन दलका करिब ६१ जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व गर्ने नेताहरूले सहमति जुटाउन केही दिन थप समय दिन प्रदेश प्रमुखसँग आग्रह गरेको उनले जानकारी दिए ।
यादवले राजनीतिक सहमतिका लागि विभिन्न पक्षमा छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । थप समय दिने वा नदिने भन्ने निर्णय प्रदेश प्रमुखको तजबिजमा रहेको उनको भनाइ छ ।
यता मधेस प्रदेशसभाको सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले भने संविधानको धारा १६८(३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेको छ । जसपा नेपालका मधेस प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले धारा १६८(२) अनुसार सरकार गठनका लागि दिइएको समय सकिएकाले अब स्वतः १६८(३) अनुसार अघि बढ्नुपर्ने बताए ।
उनले समयसीमा सकिइसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा ठुलो दलको नेताका रूपमा आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताए ।
मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबिच सहमति जुट्न नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अन्योलमा परेको छ । प्रदेश प्रमुख कर्णले भने थप समय दिने वा संविधानको अर्को व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउने भन्नेबारे निर्णय गरिसकेका छैनन् ।