सर्लाही । वैदेशिक रोजगारीसम्बन्धी विवादलाई लिएर सर्लाहीमा एक युवकको अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएको छ। प्रहरीले बन्धक बनाइएका युवकलाई सकुशल उद्धार गर्दै घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनीलकुमार रायलाई गत कात्तिक २७ गते राति करिब १० बजे कौडेना गाउँपालिका–२ फूलपरासीबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार बरहथवा नगरपालिका–५ निवासी सन्तोषकुमार महतोसहित ४/५ जनाको समूह दुईवटा मोटरसाइकलमा घटनास्थल पुगेर रायलाई कुटपिट गर्दै पिकअप गाडीमा राखी बरहथवातर्फ लगेको थियो। घटनाबारे पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले खोजतलास थालेको थियो।
खोजतलासका क्रममा कात्तिक २८ गते बिहान बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा कोठाभित्र बन्धक बनाइएको अवस्थामा रायलाई फेला पारेर प्रहरीले सकुशल उद्धार गरेको हो।
उद्धारसँगै प्रहरीले सन्तोषकुमार महतोलाई नियन्त्रणमा लिएको थियो भने घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोदकुमार महतो, २५ वर्षीय अमितकुमार महतो र ३१ वर्षीय सन्तोषकुमार महतो रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वैदेशिक रोजगारीसम्बन्धी विवादमा रहेको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ। साथै, फिरौती रकम बुझाउन जाँदा तीन लाख रुपैयाँ र गरगहना लुटिएको भन्दै घटनालाई अतिरञ्जित गर्ने तथा गलत सूचना फैलाउने प्रयाससमेत भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।