वीरगञ्ज । दैनिक जागरण पत्रिकाका सम्पादक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य राजनकुमार सिंहमाथि कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस चौतारी नेपाल पर्साले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
विज्ञप्तिअनुसार गत कात्तिक ३० गते राति करिब ९ः३० बजे वीरगन्ज महानगरपालिका–१५ भेडियाहीबाट हनुमान चोक नजिकै जाने क्रममा सिंहमाथि आक्रमण भएको थियो।
भेडियाही निवासी भुलन भन्ने प्रितमकुमार सर्राफ, नरेश भन्ने चन्दनकुमार सर्राफ, गणेश भन्ने रविकुमार सर्राफ, उमेश भन्ने राजन सर्राफ र रासकुमार सर्राफले संयुक्त रूपमा सिंहमाथि आक्रमण गरी कुटपिट गरेको प्रेस चौतारीको आरोप छ।
व्यक्तिगत रिसइबीका कारण भएको भनिएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न प्रेस चौतारी पर्साले माग गरेको छ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
