वीरगंज । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगंजका तीन खेलाडीलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ ।
चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा सञ्चालन भएको हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र काश्य पदक जितेका खेलाडीलाई महानगरपालिकाले आज सम्मान गरेको हो ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगंजबाट गएका तीनै जनाले पदक जित्न सफल भएका थिए । प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए ।
प्रतियोगितामा अवन्तिका झाले आफ्नो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् भने सान्वी शर्मा र अवन्सिका गुप्ताले काश्य पदक हासिल गरेका थिए । प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगंजका तीनै खेलाडीले पदक जित्न सफल भएका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै महानगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगंजको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । खेलाडीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गर्नुभयो ।
महानगर प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि वीरगंज महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन महानगरले आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाइ थियो ।