वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २७ कुहँडीमा सामान्य विवादपछि एक समूहको गतिविधिका कारण दलित समुदायका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छठ पर्वको अन्तिम दिन गत सोमबार भएको विवादपछि एक समूहले दलित समुदायका व्यक्तिहरूमाथि पटक–पटक आक्रमणको प्रयास गर्नुका साथै घर तोडफोड, खानेपानीको बोरिङको पाइप काट्ने र गालीगलौज गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयका अनुसार सामान्य झगडाबाट सुरु भएको विवादले उग्र रूप लिएपछि दलित समुदायका बासिन्दामाथि निरन्तर दबाब र दुर्व्यवहार भइरहेको छ । विवादपछि उक्त समूहले दलित समुदायलाई लक्षित गरी विभिन्न गतिविधि गर्दै आएको उनीहरूको गुनासो छ ।
दलित समुदायको बस्ती तुलनात्मक रूपमा कम र अर्को समुदायको बस्ती बढी रहेको कुहँडीमा बहुसंख्यकको आडमा आफूहरूमाथि अन्याय तथा दुर्व्यवहार भइरहेको स्थानीय शेरबहादुर पासवानले बताए । घरमा तोडफोड गर्ने, खानेपानीका लागि प्रयोग हुँदै आएको बोरिङको पाइप काटिदिने तथा सार्वजनिक रूपमा गालीगलौज गर्ने गतिविधिले आफूहरू समस्यामा परेको उनको भनाइ छ ।
त्यस्तै, स्थानीय रमेशर हजारले घटनापछि दलित समुदायका परिवार घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताए । घटनाका कारण गाउँमा तनाव बढ्दै गएको र सामाजिक सद्भावसमेत खल्बलिने जोखिम रहेको उनले चिन्ता व्यक्त गरे ।
घटनाबाट प्रभावित स्थानीय दलित परिवारले आफूहरूको सुरक्षा र न्यायका लागि प्रहरी प्रशासनसँग गुहार मागेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
जातीय आधारमा हुने विभेद, दुर्व्यवहार र हिंसाका घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै स्थानीयले प्रहरी प्रशासनलाई तत्काल हस्तक्षेप गरी गाउँमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् ।