वीरगंज । तस्करी नियन्त्रणको दाबी गर्दै सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले तस्करीको सामानसहित नियन्त्रणमा लिएका व्यक्तिलाई केही घण्टामै मुक्त गरेको घटनाले प्रहरीको कारबाही प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । पक्राउ परेका व्यक्ति र तस्करीमा प्रयोग भएको भनिएको मोटरसाइकलसमेत फिर्ता गरिएपछि घटनामा आर्थिक चलखेल भएको आशंकासमेत व्यक्त हुन थालेको छ ।
प्राप्त जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले शनिबार बिहान करिब ८ बजे तिलावे पुलबाट वासिङ मेसिन तथा फ्रिजका स्पेयर्स पार्ट्ससहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक आशुतोष शाहीको नेतृत्वमा खटिएको टोलीले पर्साको कालिकामाई गाउँपालिका–कट्टी बालुवा निवासी नगा दास तत्वालाई ना.३८ प.९०७४ नम्बरको कालो रङको होन्डा साइन मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले बरामद गरेको स्पेयर्स पार्ट्सको मूल्य करिब ५५ हजार रुपैयाँ रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भारतको रक्सौलबाट विभिन्न प्रकारका स्पेयर्स पार्ट्स ल्याएर वीरगंजका पसलमा पुर्याउने गरेको आरोपसमेत उनीमाथि लागेको छ ।
तर, पक्राउ परेका तत्वालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको करिब सात घण्टापछि नै छाडिएको बताइएको छ । नियन्त्रणमा राखिएको उनको मोटरसाइकलसमेत आज बेलुका करिब ४ बजे फिर्ता गरिएको जानकारी प्राप्त भएको छ ।
स्थानीय स्रोतका अनुसार तत्वाले दैनिक भारतको रक्सौलबाट विभिन्न प्रकारका स्पेयर्स पार्ट्स ल्याउने गरेको र बिहानको समयमा आफ्नी श्रीमतीलाई मोटरसाइकलमा पछाडि राखेर झोलामा सामान बोकी वीरगंजका पसलमा पुर्याउने गरेको आरोप छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बरामद सामानको मूल्य १५ हजार रुपैयाँ बराबर रहेको भन्दै पक्राउ परेका व्यक्ति र मोटरसाइकल छाडिएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरुले बताए अनुसार ५५ हजारको र प्रहरी प्रवक्ताले बताएको १५ हजार रुपैयाँको मूल्यबीच देखिएको अन्तरले घटनालाई थप शंकास्पद बनाएको छ ।
बरामद सामानको मूल्य कम भएको भन्दै पक्राउ परेका व्यक्ति र सामान ओसारपसारमा प्रयोग भएको भनिएको मोटरसाइकलसमेत फिर्ता गर्नुको आधार के हो ?पक्राउपछि आवश्यक कानुनी प्रक्रिया किन अगाडि बढाइएन ? यस्ता प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
अझ, पक्राउ परेको व्यक्ति र मोटरसाइकल दुवै सहज रूपमा फिर्ता भएको घटनाले आर्थिक लेनदेनका आधारमा छुटकारा दिइएको हो कि कानुनी प्रक्रियाअनुसार निर्णय गरिएको हो भन्ने आशंका जन्माएको छ ।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको नाममा अभियान चलाउने प्रहरी संगठनले पक्राउ र बरामदको तथ्यांक देखाएर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको मान्न सक्दैन । बरामद सामानको मूल्यांकन, पक्राउपछि अनुसन्धान, कानुनी प्रक्रिया र अन्ततः व्यक्ति तथा सवारी साधन फिर्ता गर्नुको आधार पारदर्शी हुन आवश्यक छ ।
तस्करी नियन्त्रण गर्ने प्रहरीकै कारबाही प्रक्रिया शंकाको घेरामा परेको यस घटनामा निष्पक्ष छानबिन आवश्यक देखिएको छ ।