वीरगञ्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ धोरेस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत विज्ञान शिक्षक मुन्ना मेहतामाथि शैक्षिक प्रमाणपत्रको कथित कारोबारसम्बन्धी आरोप थप पेचिलो बनेको छ। एसईईदेखि स्नातक तहसम्मका प्रमाणपत्र आर्थिक लेनदेनका आधारमा उपलब्ध गराएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरीपछि आयोगले यस प्रकरणमा अनुसन्धान सुरु गरेको बताइएको छ।
एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई भारतीय शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन मध्यस्थता गरेको आरोपबाट सुरु भएको विवाद अहिले स्नातक तहका प्रमाणपत्रसम्म जोडिएको दाबी सार्वजनिक भएपछि शिक्षा क्षेत्रमै हलचल पैदा भएको छ। प्रमाणपत्रको वैधता, आर्थिक लेनदेन, विद्यार्थी भर्ना र शिक्षक नियुक्तिसम्बन्धी विवादले अब अनुसन्धान निकायको ध्यानाकर्षण गराएको छ।
प्राप्त विवरणअनुसार, पकाहाँ मैनपुर क्षेत्रका एसईईमा अनुत्तीर्ण भएका करिब २० जना विद्यार्थीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर भारतीय शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन मध्यस्थता गरेको आरोप मेहतामाथि लागेको थियो। उक्त रकममध्ये ३ हजार रुपैयाँ आफूले राखेर बाँकी ७ हजार रुपैयाँ भारतीय विद्यालयलाई बुझाउने गरेको दाबीसमेत सार्वजनिक भएको थियो।
यतिमात्र नभई, मेहतामार्फत स्नातक तहका प्रमाणपत्रसमेत आर्थिक लेनदेनका आधारमा उपलब्ध गराइएको भन्ने नयाँ दाबीले प्रकरणलाई थप गम्भीर बनाएको छ। कथित प्रमाणपत्रका आधारमा पोखरिया, वीरगञ्ज तथा पकाहाँ मैनपुरलगायत क्षेत्रका विभिन्न शैक्षिक संस्थामा विद्यार्थी भर्ना भएको दाबी गरिएको छ।
यदि अध्ययन र परीक्षा प्रक्रिया पूरा नगरी रकमका आधारमा प्रमाणपत्र उपलब्ध गराइएको पुष्टि भएमा त्यसले नेपालको शैक्षिक प्रणाली, प्रमाणपत्रको विश्वसनीयता तथा शैक्षिक योग्यताको मूल्यांकन प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्नेछ। प्रमाणपत्र कुन विद्यालय वा विश्वविद्यालयबाट जारी भएका हुन्, ती संस्थाको वैधानिकता के हो, नेपालमा मान्यता प्राप्त छन् वा छैनन् तथा विद्यार्थीले वास्तविक रूपमा अध्ययन र परीक्षा पूरा गरेका छन् कि छैनन् भन्ने विषय अनुसन्धानको प्रमुख आधार बन्नुपर्ने देखिन्छ।

यस प्रकरणको सबैभन्दा संवेदनशील पक्ष कथित प्रमाणपत्रका आधारमा विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीहरूको भविष्य हो। यदि विद्यार्थीले आवश्यक अध्ययन तथा परीक्षा प्रक्रिया पूरा नगरी प्राप्त गरेका प्रमाणपत्रका आधारमा अर्को तहको अध्ययन गरिरहेका छन् भने भविष्यमा भर्ना, परीक्षा, शैक्षिक योग्यता, रोजगारी तथा अन्य प्रतिस्पर्धात्मक अवसरमा समस्या उत्पन्न हुन सक्छ।
रकम बुझाएर प्रमाणपत्र प्राप्त गरेको भनिएका विद्यार्थी भोलि उच्च शिक्षा, सरकारी सेवा वा रोजगारीको क्षेत्रमा पुग्दा प्रमाणपत्र अमान्य ठहरिएमा उनीहरूको वर्षौंको समय, मेहनत र भविष्य जोखिममा पर्ने सम्भावना रहन्छ। विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे निष्पक्ष र तथ्यपरक अनुसन्धान आवश्यक छ।

मुन्ना मेहताको विज्ञान शिक्षक पदमा नियुक्ति तथा अध्यापन अनुमतिपत्रसम्बन्धी विषय पनि यसअघि विवादमा आएको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको कार्यकालमा भएको भनिएको नियुक्तिको कानुनी आधारबारे प्रश्न उठाइएको थियो।
विद्यालयका प्रधानाध्यापक उपदेश मेहताले विज्ञान शिक्षकका लागि अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने तर्क गरेका थिए भने शिक्षक मुन्ना मेहताले गाउँपालिकाले प्रकाशित गरेको विज्ञापनअनुसार आफू नियुक्त भएको दाबी गरेका थिए। तर, नियुक्ति प्रक्रिया, आवश्यक योग्यता, अध्यापन अनुमतिपत्रको व्यवस्था र कानुनी मापदण्डको पालना भए–नभएको विषय सम्बन्धित निकायबाट स्पष्ट हुन आवश्यक छ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अनुसन्धान सुरु भएको बताइएपछि अब कथित प्रमाणपत्र कारोबार, आर्थिक लेनदेन, प्रमाणपत्रको आधिकारिकता, विद्यार्थी भर्ना तथा शिक्षक नियुक्तिसम्बन्धी विवादको तथ्यपरक छानबिन हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले यसअघि आफूलाई उक्त विषयमा जानकारी नभएको र जानकारी प्राप्त भएपछि आवश्यक छानबिन गरी त्रुटि देखिए कारबाही गर्ने बताएका थिए।
अब गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाइ, सम्बन्धित परीक्षा बोर्ड तथा अख्तियारको अनुसन्धानले आरोपको वास्तविकता उजागर गर्नुपर्ने देखिन्छ। प्रमाणपत्रको नाममा कुनै गैरकानुनी गतिविधि भएको भए संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु र विद्यार्थीको भविष्य सुरक्षित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।
शिक्षा क्षेत्रलाई प्रमाणपत्रको कथित किनबेच, अनियमितता र अपारदर्शिताबाट मुक्त राख्न अनुसन्धान केवल कागजी प्रक्रियामा सीमित नभई तथ्य, प्रमाण र कानुनी आधारमा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ।
