वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउन शुभकामना व्यक्त गरेका छन्।
सांसद शाक्यले नेपाल र भारतबीच सदियौँदेखि कायम रहँदै आएको आत्मीय सम्बन्ध, आपसी सद्भाव, सहकार्य तथा मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले पर्साको सीमावर्ती भिस्वा, जानकीटोला तथा सिक्टासँग जोडिएको भारतको पश्चिम चम्पारणस्थित सिक्टा र इनर्वा बजार क्षेत्रसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने धारणा राखेका छन्। सीमावर्ती क्षेत्रका नागरिकको व्यापार, आवतजावत तथा आर्थिक गतिविधिलाई सहज बनाउने वातावरण निर्माण गर्न पनि उनले आग्रह गरेका छन्।
नेपाल–भारत सम्बन्ध दुई देशबीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही जनस्तरमा जोडिएको आत्मीय सम्बन्धसमेत रहेको उल्लेख गर्दै शाक्यले वर्षौंदेखि कायम रहेको रोटी–बेटीको सम्बन्धलाई सधैँ सुमधुर र बलियो बनाइराख्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य, व्यापारिक साझेदारी तथा सीमावर्ती क्षेत्रका नागरिकको हितमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले भ्रमणको सफलताको शुभकामना दिएका छन्।
यसैबीच, सांसद शाक्यले सीमामा खटिएका नेपाल प्रहरी तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीलाई फूलमाला लगाएर स्वागतसमेत गरेका थिए। उनले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई आवतजावत तथा व्यापार व्यवसायमा सहज वातावरण बनाउन दुवै देशका सुरक्षा निकायसँग आग्रह गरेका थिए।
स्वागत कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्रा, परशुराम साह, सुधिल पटेल, राजु पटेल, सन्तोष पटेल, सुरेन्द्र पटेल, रञ्जित साह, कृष्णमोहन यादव, मनोज केवट, प्रदीप पटेललगायत जेनजी युवाहरूको सहभागिता रहेको थियो।
सांसद शाक्यले नेपाल–भारत मैत्री सम्बन्ध अमर रहोस् र दुई देशबीचको मित्रता तथा सद्भाव अझ प्रगाढ बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।