जनकपुर । नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्ने सरयु–कमला रेल सेवा सञ्चालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र साह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीद्वयले भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेपछि उत्तर प्रदेशको अयोध्या क्यान्ट स्टेसनबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भिडियो कन्फरेन्समार्फत ताली बजाउँदै रेललाई बिदाइ गरेका थिए । १७ डिब्बा रहेको उक्त रेलमा करिब एक हजार यात्रु सवार छन् ।
रेल मंगलबार दिउँसो जनकपुरधाम आइपुग्ने तालिका छ । भगवान् श्रीरामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने यो सेवाले धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा सीमापार आवागमनमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ । करिब ६०४ किलोमिटर दूरीको यात्रा रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर हुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्टलगायतका स्टेसनमा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था गरिएको छ । सातामा एक दिन दुबैतर्फ सञ्चालन हुने रेल सेवाअन्तर्गत जनकपुरधामबाट अयोध्या जाने रेल नम्बर १५५९५ र अयोध्याधामबाट जनकपुरधाम आउने रेल नम्बर १५५९६ निर्धारण गरिएको छ ।
जनकपुरधामबाट शनिबार दिउँसो १ः१० बजे छुट्ने रेल आइतबार बिहान अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे छुट्ने रेल मंगलबार दिउँसो १२ ः४० बजे जनकपुरधाम आइपुग्ने समयतालिका छ । नेपालका रेल स्टेसनको समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समय अनुसार तालिका हेर्नुपर्नेछ । यस अघि भारतबाट जनकपुरधाम आउने यात्रुले जयनगरमा सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने अवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमा जाँचपछि एउटै रेलमा गन्तव्यसम्म पुग्न सकिने सुविधा उपलब्ध हुने भएको छ ।
रेल सेवा शुभारम्भ अघि उत्तर प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या र जनकपुरधाम दुई संस्कृतिको पौराणिक मिलन भएको बताए । उनले सरयु–कमला रेल सेवाले दुई तीर्थस्थलबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गरेको उल्लेख गर्दै राममन्दिर र जानकी मन्दिर दर्शन गर्न जाने श्रद्धालुका लागि यो सेवा महत्वपूर्ण हुने बताए । यसबाट जनकपुरको मिथिला चित्रकलाले समेत अन्तर्राष्ट्रिय बजार पाउने उनको विश्वास गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले पनि जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन रेल सेवा महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री साहले नेपाल– भारत सम्बन्धलाई ऐतिहासिक निकटतामा मात्र सीमित नराखी आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।
यसैबीच, अयोध्याधामबाट आउने तीर्थयात्रीको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विशेष तयारी गरिएको छ । स्वागतका लागि पण्डाल निर्माण गरिएको छ भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार र विकास सहकार्यका विषयमा समेत महत्वपूर्ण सहमति तथा घोषणा भएका छन् । दुबै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने व्यवस्था छ । त्यसैगरी, भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । सरयु–कमला रेल सेवा सञ्चालनसँगै जनकपुरधाम र अयोध्याबीचको धार्मिक पर्यटन, व्यापार, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा नयाँ ढोका खुलेको छ । यसले नेपाल–भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई यातायातको आधुनिक सञ्जालमार्फत थप मजबुत बनाउने विश्वास लिइएको छ ।