मकवानपुर । १९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। प्रहरीले ३१ वर्षीय चिकित्सक प्रियम यादवलाई ६ मंसिरको राति अस्पतालबाटै पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।
पक्राउ परेका यादव सप्तरीको विष्णुपुर गाउँपालिका– ४ घर भई हेटौँडा उपमहानगरपालिका– ९ मा डेरा लिई बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकारीका अनुसार किशोरीले ६ मंसिरको साँझ ७ः५५ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।
त्यसपछि प्रहरीले सोही राति यादवलाई हेटौँडा अस्पतालबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।