काठमाडाैं । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका ‘सुकुमवासी’लाई उठाएर होल्डिङ सेन्टर पुर्याएको सरकारले त्यहाँसमेत छाड्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको सेन्टरमा राखिएका सुकुमवासीलाई हट्न निर्देशन दिएको हो ।
प्रशासनले बुधबार सूचना टाँस्दै शनिबारसम्म स्थान छाड्न निर्देशन दिएको हो । यसअघि एक साताको मौखिक सूचना दिए पनि लिखित सूचना जारी गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । उनका अनुसार भक्तपुरमा हाल दुई स्थानमा गरी ५१ परिवारका १३७ जना छन् । जसमा बोडेमा १९ परिवारका ५९ र खरिपाटीमा ३२ परिवारका ७८ जना बस्छन् । प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार बोडेमा बसिरहेकालाई शनिबारसम्म हट्न निर्देशन दिइएको हो ।
‘एक साताअगाडि नै उहाँहरूलाई मौखिक सूचना दिएका थियौँ, आज लिखित सूचना टाँसेका छौँ,’ उनले भने, ‘बोडेमा बसेका १९ मध्ये ७ परिवारको अन्य स्थानमा जग्गा देखिएको छ, उहाँहरू भूमिहीन होइन, हामीले जिल्ला भूमि समस्या समाधान समितिसँग सम्पर्क राख्न भनेर पठाउँछौँ, जग्गा व्यवस्था गरिदिने काम समितिले गर्छ, तर सम्बन्धित जिल्लामा नै जग्गा दिइनेछ ।’
उनका अनुसार सरकारले निर्णय गरेबमोजिम होल्डिङ सेन्टर छाड्ने वेलामा प्रत्येक परिवारलाई १५ हजार दिइनेछ । सरकारले तीन महिनासम्म सुकुमवासीलाई १५ हजार दिने निर्णय गरेको थियो ।