पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो । साँझसम्म १९ वर्षीय विवश घर्तीमगर, ३२ वर्षीय रमेश शर्मा, दिपेश परियार, सौरव जैसवाललगायतलाई प्रहरीको गोली लागेको खबर सार्वजनिक भएको थियो ।
२४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीकै गेटमा ठूलो भीड जम्मा भएको थियो र उनीहरु डोजरसहित प्रहरी कार्यालय छिर्ने तयारी गर्दै थिए । प्रहरीले ड्याङ्ग गोली चलायो र डोजरमा बसेका एक युवक जमिनमा बजारिए । ठूलो संख्यामा भेला भएका समूह डोजरसहित प्रहरी कार्यालयको गेटबाट छिर्न खोजेपछि एकाएक गोली चलेको थियो ।
प्रहरीको गोलीपछि भीड झनै आक्रामक बन्यो । प्रहरी कार्यालय नै छोडेर सुरक्षित स्थानतिर लाग्न बाध्य बन्यो । पोखराको सडकैभरि डोजर नचाइएको थियो । फलामका रडदेखि विभिन्न हातहतियारसहित होहल्ला गर्नेहरुले विध्वंश मच्चाइरहेकै थिए । सरकारी कार्यालय, संरचना, केही निजी व्यवसायमा तोडफोड, लुटपाट र आगजनीपछि साँझ युवाहरुसहितको जत्था डोजरसहित गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेको थियो ।
डोजरले प्रहरी कार्यालय नै भतकाउने योजनासहित प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलायो र युवालाई लागेपछि उनलाई तत्काल अस्पताल पुर्याइयो । प्रहरीको गोली लागेर ढलेका ती युवक थिए, मादी गाउँपालिका घर भइ पोखरा–१३ बस्ने १८ वर्षीय लक्ष्मण (ढकबहादुर) नेपाली ।
जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गराउँदै अन्तरिम सरकार गठन भयो र अन्तरिम सरकारले गराएको चुनावबाट बालेन्द्र शाह नेतृत्व सरकार गठन भएको पनि करिब ८ महिना भइसक्यो । जेनजी आन्दोलनमा जलेका पोखराका अधिकांश सरकारी कार्यालय सञ्चालनमा आइसके ।
पोखरामा भएको जेनजी आन्दोलनमा अन्तिम निशाना बनेको प्रहरी कार्यालय पुरानै अवस्थामा फर्किसकेको छ । तर, जेनजी आन्दोलनमा प्रहरीको गोली लागेका लक्ष्मण भने साढे १४ महिनादेखि अस्पतालको भेन्टिलेटरमै छन् ।
लक्ष्मणको घाँटीको मेरुदण्डमा गोली लागेर अड्किएको थियो । उनलाई अस्पतालले तत्काल भेन्टिलेटरमा राखेर उपचार थाल्यो । भदौ २९ गते राति उनको घाँटीबाट गोली निकालिएको थियो । घाँटीमा गोली लागेर स्पाइनर कर्ड इन्जुरी भएको अस्पतालको भनाइ छ । उनको हातखुट्टामात्रै होइन, घाँटी भन्दामुनि कुनै पनि अंग चल्दैन ।
भेन्टिलेटरमा उपचार गर्दा पनि ठूलो सुधार नआएपछि उनलाई थप उपचारका लागि भदौ २३ गते शिक्षण अस्पताल काठमाडौंमा पुर्याइयो । काठमाडौंमा २ महिना राखेर उपचार गर्दा पनि पक्षघात भएका लक्ष्मणको अवस्थामा उल्लेख्य सुधार नभएपछि फेरि पोखरा नै ल्याइयो । करिब १५ महिनादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमै राखेर लक्ष्मणको उपचार भइरहेको छ ।
उनी अहिले घरिघरी बोल्न, आफ्ना कुरा राख्न सक्ने अवस्थामा भए पनि भेन्टिलेटरमै राखेर उपचारै गर्नुपर्ने अवस्थामा छन् । उनको अहिले पनि घाँटीभन्दा मुनिका अंगहरु चल्दैनन् । यो पूर्ण निको हुने सम्भावना पनि अत्यन्त न्यून रहेको काठमाडौं शिक्षण अस्पताल र पोखरामासमेत उपचार गराइरहेका डा. विपिन कार्कीले बताए ।
करिब १५ महिनादेखि लक्ष्मण भेन्टिलेटरमा हुँदा उनको परिवारले मानसिक तथा आर्थिक समस्या खेपेको छ । आमा, दिदी र बहिनीको सबै ध्यान लक्ष्मणमा लगाउनुपर्दा तनाब, सास्ती र भविष्य नै अन्योलमा परेको छ । लक्ष्मणका बुबा विदेश छन् ।
करिब १५ महिनासम्म पनि लक्ष्मण भेन्टिलेटरबाट नउठेपछि परिवारले रोइकराई गरे । सरकारसँग हारगुहार गरे । गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा बुधबार बल्ल सरकारी टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै लक्ष्मणको अवस्था बुझ्न पुगेको छ ।
गृह मन्त्रालय, स्वास्थ्य विभाग, जेनजी आन्दोलनका शहिद परिवार, कास्कीकी संघीय सांसद विना गुरुङसहित प्रधानमन्त्रीको सचिवालयकी उपसंयोजक प्रकृति ढकाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पुगेकी हुन् ।
ढकालले विशेष गरी गृहमन्त्री गुरुङकै चाहना र निर्देशनअनुसार घाइतेको अवस्था बुझ्न, परिवारको व्यवस्थापनबारे छलफल गर्न र सरकारका तर्फबाट गर्न सकिने पहलका लागि आफूहरु अस्पतालमा आएको बताइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसदलगायतसँग छलफल गरेपछि ढकालसहितको सरकारी टोलीलाई लक्ष्मणलाई भेटे । परिवारसँग छलफल गरेर उनीहरुको भनाइ सुनेपछि ढकालले लक्ष्मणकी आमा, दिदी र आफन्तलाई सम्पूर्ण व्यवस्था गर्ने ढाडस दिएकी छन् ।
शल्य चिकित्सा डा. राजनकुमार शर्माका अनुसार लक्ष्मणको उपचारमा करिब डेढ वर्ष लागिसकेको र अब यो अवस्थाबाट सुधार आउने एकदमै कम सम्भावना छ ।
लक्ष्मणकी दिदी लक्ष्मी नेपालीले सरकारका तर्फबाट भारतसम्म पुर्याएर भए पनि आफैं सास फर्ने, आफैं आफ्नो सामान्य काम गर्नेसम्म बनाइदिन आग्रह गरिन् । होटल म्यानेजमेन्टमा प्लस टू पास गरेकी लक्ष्मीले आफ्नो भविष्य नै अन्धकारमा पर्न लागेको र धेरै मानसिक तनाब खेपेको सुनाइन् ।
बहिनी सानै रहेकोले परिवारको जिम्मेवारी आफूमाथि आइपरेको र भाइको अवस्थामा पनि सुधार नआउँदा धेरै पीडा खेपेको सुनाउँदै आमासँगै लक्ष्मीले विलाप गरिन् । ‘अब सधैं यस्तो अवस्था नै रहने हो भने कसरी व्यवस्थान गर्ने ? कसरी परिवार पाल्ने ? कसरी भविष्य बनाउने ?,’ लक्ष्मीले सरकारी टोलीसँग प्रश्न गरिन् ।
लक्ष्मणको उपचार गरिरहेका डा. राजनकुमार र विपिन शर्माले भारत नै लगे पनि अहिलेसम्मको उपचार विधि र प्रक्रिया यति नै रहेको भन्दै अब दीर्घकालीन विकल्प सोच्न सुझाएका थिए ।
‘डेढ वर्ष भइसक्यो, अब योभन्दा सुधार आउँछ भन्ने सम्भावना एकदमै कम छ । सल्लाह गरेरै टिचिङ पनि लगिएको थियो । उपचार यही हो । अब कुनै पद्धति यहाँ नभएर भएको भए हामीले डे वानमै यहाँबाट पठाइसक्थ्यौँ,’ डा. राजनकुमारले भने, ‘त्यो पनि हैन । उपचार गर्ने कुरा सबै गरिसक्यौँ ।’
छोटो समय भेन्टिलेटरबाट निकाल्ने अवस्था पुगे पनि अब सुधार नहुने उनीहरुको भनाइ थियो । ‘आईसीयूमा राख्दाखेरि क्रस इन्फेक्सन पनि हुन सक्छ, अरूको इन्फेक्सन पनि सर्न सक्छ । लामो समय आईसीयूमा राखेर हस्पिटललाई बढी इन्फेक्सन भयो उहाँलाई,’ उनले भने, ‘अब त्यसको अर्को विकल्प भनेको घरमा नै राख्ने हो ।’
३ काम गर्ने सहमति
चिकित्सकले घरमा नै नर्ससहितको भेन्टिलेटरको व्यवस्था गर्न सकिने सुझाव डा. कार्कीको थियो । लक्ष्मणका लागि सरकारले सबैखाले प्रवन्ध मिलाउनेबारे खुला रहेको प्रधानमन्त्री शाहको सचिवालयकी प्रकृति ढकालको भनाइ थियो ।
सरकार, पीडित परिवारसहितको छलफलले मुख्यगरी ३ काम गर्ने सहमति भएको छ । परिवारसँग छलफलपछि लिखित रुपमा सहमति गरेर हस्ताक्षर गराएका छन् । लक्ष्मणकी आमा, दिदीलगायत आफन्तले हस्ताक्षर गरेका छन् ।
गृहमन्त्रालयका उपसचिव गोकर्णराज सुयालले छलफल र लक्ष्मणको अवस्था बुझेपछि परिवारसँग गराएको सहमति र अब गर्ने मुख्य ३ काम सुनाए ।
ढकबहादुर (लक्ष्मण) र अस्पतालमा उपस्थित नभए पनि उपचाररत सबै जेनजीको स्वास्थ्य लाभको कामना गर्ने पहिलो बुँदामा लेखिएको छ । दुई नम्बर उपचारमा संलग्न विज्ञ डाक्टरको सल्लाह सुझाव अनुसार थप उपचारबाट स्वास्थ्यमा उल्लेखनीय सुधार नहुने र थेरापी लगायतका उपचारका विधिहरु प्रयोग गरी स्वास्थ्यमा स्वास्थ्यमा सुधारको लागि आवश्यक पर्ने उपकरण र सुविधा घर अथवा अस्थायी आश्रय स्थलमा व्यवस्थापन गर्न उपयुक्त हुने देखिएको उल्लेख गरे ।
बिरामी र परिवारका आफन्तहरुसमेत घरमा आवश्यक उपकरणसहित उपचारको व्यवस्था गर्न सहमत भएका उनले सुनाए । तीन नम्बरमा जेनजीको उपचारहरुलाई समेत प्रभावकारी बनाउने बताए । सरकारका प्रतिनिधिसँग छलफलपछि अब लक्ष्मणको उपचारमा सहज हुने परिवारले आशा राखेको लक्ष्मीले सुनाइन् ।
घरमा नै उपचार गर्ने विधि अपनाउने हो भने नर्ससहितको व्यवस्था सरकारले नै गरिदिनुपर्ने परिवारको भनाइ छ । अहिले परिवार लक्ष्मणलाई सधैं अस्पतालमा राख्न पनि नसक्ने, घरमा लैजान पनि नसक्ने अवस्थाका कारण ठूलो तनाबमा परेको छ ।
लक्ष्मणसहित घाइते जेनजी युवाहरुको उपचारमा गृहमन्त्री स्वयंले बढी चासो दिएर सहजीकरण गरिरहेको प्रधानमन्त्रीको सचिवालयकी ढकालले पटक पटक बताएकी थिइन् । कास्की क्षेत्र नम्बर ३ बाट विजयी रास्वपा सांसद बिना गुरुङले आफूले पटक पटक घाइते लक्ष्मण, उनको परिवारलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको र अहिले सहजीकरणकै लागि काठमाडौंबाटै टोली आइपुगेको सुनाइन् ।
‘उहाँहरुलाई नै भेटेर छलफल गरौं, ट्रिटमेन्ट गरिराख्नुभएको डाक्टरको पनि सल्लाह सुझाव लिउँ । अब कसरी बेटर ट्रिटमेन्ट दिन सकिन्छ भन्ने सल्लाह भएकोले आज उपस्थिति भएको हो,’ उनले भनिन्, ‘प्रधानमन्त्री कार्यालय, गृह, स्वास्थ्य मन्त्रालयबाट पनि आउनुभएको छ ।’