पर्सा । गत साताको भारी वर्षासँगै पर्सा–बाराको गण्डक नहरमा पानी दिन बन्द गरेको भारतीय पक्षले शुक्रबारदेखि नहरमा पुनः पानी दिएको छ । गत साता नारायणी नदीको जलस्तर बढेर गण्डक व्यारेजको सबै ढोका खोलिएपछि झण्डै एक साता नहरमा पानी आएको थिएन ।
नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी एंव इन्जिनियर सुरेश कुमार साहले शुक्रबार देखि नहरमा पुनः पानी आएको जानकारी दिए ।‘नारायणी नदीको जलस्तर अत्यधिक बढेर नवलपरासीको नेपाल भारत सीमा भैसालोटनस्थित व्यारेजका सबै ढोका खोलिएपछि नहरमा पानी आउन बन्द भएको थियो,’ साहले भने, ‘यस्तो अवस्थामा बाढीको पानी नहरमा पसेर नहर माटोले पुर्ने सम्भावना हुने भएकाले नदीमा जलस्तर बढेपछि नहरमा पानी छोडिदैन ।’
गण्डक व्यारेजका सबै ढोका खोल्दा नहरतर्फ पानी प्रवाह स्वतः रोकिन पनि जान्छ । खोलामै अत्यधिक जलप्रवाह भएपछि नहरमा आकाशे पानी समेत थपिएर नहर फुट्ने सम्भावना पनि बढन जान्छ ।
हाल पर्सा–बाराको गण्डक नहरमा ३ सय क्यूसेक पानी रहेको र यो बढेर ४ सय ५० क्युसेकसम्म पुग्ने साहले बताए । ‘हामीलाई अब ४ सयदेखि ४ सय ५० क्युसेकसम्म पानी नहरमा भए पुग्छ,’ उनले भने, ‘धेरै किसानको खेतमा पर्याप्त पानी छ, तर केही किसानलाई अझै पानी चाहिएको हुन सक्छ, त्यसकारण छठ पर्वसम्म हामीले भारतीय पक्षसँग पानीको माग गरेका छौं ।’
गण्डक व्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन् । दोन नहर भारतमै ९२ किमी यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ । यस वर्ष नहरमा भारतीय पक्षले असार १४ गतेनै पानी दिएको थियो ।
वर्षेनी धान बालीका लागि असार १५ गतेदेखि र गहु बालीका लागि पुस १० गते देखि गण्डक नहरमा भारतीय पक्षले पानी दिने गर्छ । सम्झौता अनुसार, नेपाल तर्फको गण्डक नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनु पर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किमी रहेको छ ।
कान्तिपुर