सलमान खानको बहुप्रतिक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनेता अमिताभ बच्चनको प्रवेश भएको खबर बाहिरिएको छ। हालै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा अमिताभ बच्चन फिल्मका निर्देशक अपूर्वा लखियासँग फिल्मको सेटमा देखिएका छन्।
निर्देशक अपूर्वा लखियाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट अमिताभ बच्चनका साथको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘सोच्नुहोस् उहाँले मलाई के भन्दै हुनुहुन्छ।’
तस्बिर सार्वजनिक भएपछि नै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको अड्कलबाजी सुरु भएको छ। यद्यपि, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन। 
यदि यो खबर सत्य भयो भने, यो अमिताभ बच्चन र सलमान खानको चौथो फिल्म हुनेछ। यसअघि उनीहरूले बाबुल, बागबान र गड तुस्सी ग्रेट हो जस्ता फिल्महरूमा सँगै काम गरिसकेका छन्। यसबाहेक, फिल्म ‘हेलो ब्रदर’ मा पनि अमिताभ बच्चनले आवाज दिएका थिए।
गोविन्दा र सलमान १८ वर्षपछि सँगै
हालै अभिनेता गोविन्दाले पनि ब्याटल अफ गलवान फिल्मको सुटिङ सुरु गरेका छन्। यो फिल्ममार्फत गोविन्दा र सलमानको जोडी १८ वर्षपछि ठूलो पर्दामा फर्कँदै छ। 
यसअघि उनीहरूले सन् २००७ को फिल्म पार्टनर र सलाम-ए-इश्कमा सँगै काम गरेका थिए। यसबाहेक सलमानले गोविन्दाको फिल्म दिवाने मस्तानेमा पनि विशेष उपस्थिति दिएका थिए।
अपूर्वा लखियाको निर्देशनमा बनिरहेको फिल्म ‘ब्याटल अफ गलवान’ को सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मको दोस्रो तालिका अक्टोबर १० मा मुम्बईमा सुरु भएको हो।
यो फिल्ममा सलमान खानका अलावा चित्रांगदा सिंह, अंकुर भाटिया, अभिलाष चौधरी, विपिन भारद्वाज, सिद्धार्थ मूली र जेन शो महत्त्वपूर्ण भूमिकामा छन्। फिल्म आगामी वर्ष ठूलो पर्दामा रिलिज हुन सक्ने सम्भावना छ।
यो फिल्म लद्दाखको एलएसी नजिकै रहेको गलवान उपत्यकामा भारत र चीनबिच हतियाररहित झडपको कथामा आधारित छ। सन् १९६२ को भारत-चीन युद्धपछि यो इलाका संवेदनशील बनेको थियो। सन् २०२० को सुरुवातमा दुई देशका सैनिक एलएसीका धेरै भागहरूमा आमने-सामने भएका थिए।
चीनको सेनाले गलवान इलाकामा संरचना बनाउन र पाल लगाउन सुरु गरेपछि भारतले आपत्ति जनाएको थियो। सन् २०२० जुन १५ को रात, भारतीय सेनाको १६ बिहार रेजिमेन्टका सैनिकहरू कर्नेल सन्तोष बाबुको नेतृत्वमा विवाद कम गर्न चिनियाँ सैनिकहरूसँग वार्ता गर्न गएका थिए। वार्ता हिंसक झडपमा बदलियो, जसमा दुवै पक्षले हतियारबिना लाठी, फलामका रड र ढुङ्गाले एकअर्कामाथि हमला गरेका थिए।
यो भिडन्तमा कर्नेल सन्तोष बाबूसहित २० जना भारतीय सैनिक सहिद भएका थिए। चीनले आफ्ना कम्तीमा ४ सैनिकको मृत्यु भएको पुष्टि गरे पनि भारतले संख्या त्योभन्दा बढी भएको बताएको थियो। यो लडाइँको नेतृत्व गर्ने कर्नेल सन्तोष बाबुको भूमिकामा सलमान खान देखिँदैछन्।